सुनको भन्सार दर २० बाट १० प्रतिशतमा झारियो, तोलामै १५ हजार ९ सय घट्यो सुन
काठमाडौं, १० मंसिर । सुनको मूल्य तोलामै १५ हजार ९ सय रुपैयाँ घटेको छ ।
सोमबार सुनको मूल्य प्रतितोला १ लाख ५१ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन प्रतितोला १ लाख ६७ हजार २ सय रुपैयाँ थियो ।
महासंघका अनुसार, सरकारले १० प्रतिशत भन्सार दर घटाएपछि सोअनुसार सोमबारदेखि मूल्य समायोजन गरिएको हो । सरकारले सुनको भन्सार दरलाई २० बाट १० प्रतिशतमा झारेपछि सो दरको प्रभाव आज नै परेको हो ।
भारतबाट सुन तस्करी भएर नेपालमा नआओस् भन्ने उद्देश्यले दर घटाउने निर्णय गरिएको भन्सार विभागका महानिर्देशक हरिशरण पुडासैनीले बताए । सरकारले बजेटमार्फत १५ प्रतिशत रहेको भन्सार दर २० पुर्याएको थियो ।
उता, छिमेकी भारतमा भने पूर्ण बजेट आउँदा भन्सार दरमा कमी आएको थियो । त्यसले नेपालमा सुन महँगो र भारतमा सस्तो हुन गएको थियो । यसबाट नेपाली बजारमा तस्करीको सुन आएको आशंका गरिएको छ । औपचारिक प्रणालीबाट आउने सुनको परिमाणमा भारी गिरावट आएको देखिएको छ ।