धरहरा परिसरबाट एनपीएलको ट्रफी सार्वजनिक

धरहरा परिसरबाट एनपीएलको ट्रफी सार्वजनिक

काठमाडौं, १० मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) को ट्रफी सार्वजनिक गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र प्रतियोगितामा सहभागी ८ टिमका मार्की खेलाडीहरुले आज सोमबार(बिहान) धरहरा परिसरबाट एनपीएलको ट्रफी अनावरण गरेका हुन् ।

कालापत्थरबाट ल्याइएको ढुंगा ट्रफीमा समावेश छ । प्रधानमन्त्री ओलीले अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली क्रिकेटका लागि आजको दिन विशेष रहेको उल्लेख गरे ।

एनपीएलमा सहभागी सबै टिमलाई आफ्नो समर्थन रहेको बताउँदै सबैलाई जितका लागि शुभकामना दिए । प्रधानमन्त्री ओलीले भने, ‘अहिले सबैलाई शुभकामना दिन्छु, जितेपछि जित्नेलाई बधाई दिन्छु ।’
 एनपीएलले पर्यटन प्रवर्द्धन पनि गर्ने विश्वास प्रधानमन्त्री ओलीले व्यक्त गरे ।

सरकारले खेलकुद क्षेत्रलाई जति प्रोत्साहन गर्नुपर्ने हो, त्यति गर्न नसकेको पनि प्रधानमन्त्री ओलीको भनाइ छ । ‘सरकारले खेलकुद क्षेत्रलाई सहयोग गर्न सकेको छैन, त्यसमा मलाई चित्त बुझेको छैन, गर्नुपर्ने जति प्रोत्साहन गर्न सकेको छैन ।’ प्रधानमन्त्री ओलीले भने ।