विपन्न जनतालाई चिसोबाट बचाउने पूर्वतयारी थाल्न प्रधानमन्त्री ओलीलाई एमालेको ध्यानाकर्षण

विपन्न जनतालाई  चिसोबाट बचाउने पूर्वतयारी थाल्न प्रधानमन्त्री ओलीलाई एमालेको ध्यानाकर्षण

काठमाडौं, १० मंसिर  । सत्ताको नेतृत्वमा रहेको दल नेकपा एमालेको केन्द्रीय विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागले तराई–मधेश र देशभरिका जिल्लाका नागरिकलाई चिसोबाट बचाउने पूर्वतयारी गर्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज (सोमबार) प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरी  विभागका प्रमुख खिमलाल भट्टराईसहितको टोलीले ध्यानाकर्षण पत्र बुझाएको हो ।

चिसोको  समयमा न्यानो कपडा र दाउराको अभावका कारण मधेश लगायत देशभरिका विपन्न बस्ती र परिवारलाई बढी पीडा दिने गरेको भन्दै यसबारे पूर्वतयारी गर्न प्रधानमन्त्री ओलीसँग एमालेले अनुरोध गरेको छ । 

एमालेले गत ११ र १२ असोजको बाढीपहिरोबाट काठमाडौं उपत्यका सहित सिन्धुपाल्चोक, काभ्रे, रामेछाप, दोलखा, सिन्धुली लगायत जिल्लाका धेरै बस्तीहरू डुबान र पहिरोमा परेकाले प्राकृतिक प्रकोपबाट उठीबास भएकाहरूलाई जाडोको समयमा थप सुरक्षा प्रबन्ध गर्न राज्यका सम्बन्धित निकाय तथा संस्थाहरू लाग्नुपर्ने सुझाव समेत दिएको छ । 

ध्यानाकर्षण पत्र बुझ्दै प्रधानमन्त्री ओलीले गृह मन्त्रालयमार्फत सम्बन्धित निकायमा सम्बोधनका लागि तत्काल पठाउने प्रतिबद्धता जनाए ।  विपद्को पूर्व तयारी र विपद्पछिको खोज, उद्धारमा लाग्नुपर्नेमा प्रधानमन्त्री ओलीले जोड समेत दिए ।