सरकार देशलाई संकटमुक्त बनाउने अभियानमा छ: शंकर पोखरेल

सरकार देशलाई संकटमुक्त बनाउने अभियानमा छ: शंकर पोखरेल

काठमाडौँ, १० मङ्सिर । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले वर्तमान सरकार देशलाई सङ्कटमुक्त बनाउने अभियानमा लागेको बताएका छन् ।

एमाले निकट नेपाल निर्माण उद्योग परिषद्को केन्द्रीय कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै महासचिव पोखरेलले मुलुकलाई सङ्कटबाट बाहिर निकाल्ने माथि प्रहार हुनु दुर्भाग्यपूर्ण भएको बताए।

“जसले मुलुकको अर्थतन्त्रलाई सङ्कट पार्दछ, त्यसमाथि प्रहार हुँदैन, जसले सङ्कटबाट मुलुकलाई बाहिर निकाल्न खोज्दछ, त्यस माथि कसरी प्रहार हुन्छ भन्ने अहिले केपी ओलीमाथि भएको प्रहारले बुझ्न सकिन्छ”, उनले भने ।

महासचिव पोखरेलले कतिपय निर्माण व्यवसायीहरूले काम गर्नका लागि लिएको ‘मोबिलाइजेशन फण्ड’ नाफा कमाउन जग्गामा लगानी गरेको, जग्गाको कारोबार सङ्कटमा पर्दा निर्माण व्यवसायी पनि सङ्कटमा परेको र यसले गर्दा विकास निर्माण नै रोकिएको बताए ।

महासचिव पोखरेलले भने, “निर्माण व्यवसायीलाई राज्यले तय गरेको काम गर्न साझा आचारसंहिता बनाएर स्वच्छ प्रतिस्पर्धा गर्नुपर्छ ।” उनले अहिलेको समय निर्माण क्षेत्रलाई स्वर्णयुग बनाउन सक्ने युग भएको र मुलकमा औपचारिकभन्दा अनौपचारिक अर्थतन्त्र अत्यन्त शक्तिशाली भएको बताए ।

एमाले स्थायी कमिटी सदस्य एवं जनसङ्गठन संयन्त्र प्रमुख भानुभक्त ढकालले जनसङ्गठनमा परेको समस्या समाधानमा पार्टीले पहल गर्ने बताए । एमालेका केन्द्रीय सदस्य तथा भौतिक पूर्वाधार तथा यातायात विभागका पूर्वप्रमुख डा कृष्णबहादुर केसीले निर्माण व्यवसायमा समस्या आउँदा सबै क्षेत्रमा समस्या आउने गरेको उल्लेख गरे । 

नेपाल उद्योग तथा व्यवसायी महासङ्घका महासचिव बालकृष्ण सिवाकोटीले एमालेको सरकार बनेको बेलामा धेरैतिर निर्माणका काम सुरु हुने र एमाले सरकारबाट बाहिरिएपछि निर्माण व्यवसायमा समस्या आउने गरेको बताए ।

लोकतान्त्रिक निर्माण व्यवसायी सङ्घका अध्यक्ष होमनाथ कोइरालाले सरकार र  निर्माण व्यवसायीको हितमा मिलेर काम गर्नुपर्ने धारणा राखे। निर्माण व्यवसायी महासङ्घका महासचिव रोशन दाहालले व्यवसायीले भुक्तानी नपाएको कारण मर्कामा परेकाले पार्टीको तर्फबाट सरकारसम्म सो कुरा पुर्‍याउन आग्रह गरे ।