भारतलक्षित प्रदीप ज्ञवालीको टिप्पणीः नेपालको द्विपक्षीय सम्बन्धको मामिलामा चासो लिनु उचित होइन

भारतलक्षित प्रदीप ज्ञवालीको टिप्पणीः नेपालको द्विपक्षीय सम्बन्धको मामिलामा चासो लिनु उचित होइन

काठमाडौं, १३ मंसिर । सत्तारुढ नेकपा (एमाले) का उपमहासचिव एवं पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चीनसँगको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजनालाई गिजोल्ने काम गर्न नहुने बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको पूर्वसन्ध्यामा सो परियोजनाको मोडालिटीबारे सत्तारुढ दल काँग्रेस–एमालेभित्र नै फरक धारणा आईरहेका बेला उनले त्यसलाई गिजोल्न गरी विवादमा तान्न नहुने बताएका हुन् ।  

बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उपमहासचिव ज्ञवालीले सो परियोजना चीनसँगको द्विपक्षीय सम्बन्धको मामिला भएकाले त्यसमा अन्य राष्ट्रले चासो लिनु उचित नभएको बताए ।

उनले नेपालले कुनैपनि देशको अहित नचाहने भएकाले अन्य देशले पनि नेपालको आन्तरिक मामिलामा चासो लिन नहुने स्पष्ट पारे ।

उपमहासचिव ज्ञवालीले भने, ‘अरु देशका जेनुन इस्युहरुलाई, इन्टेष्टहरुलाई हार्म गर्दैन हाम्रा पोलिसीहरुले, हामीले लिने नीतिहरुले हाम्रा अरु छिमेकीहरु वा अरु देशहरुको आधारभुत हितलाई चुनौति खडा नगरुन्जेलसम्म अरुले चासो राख्नु उचित पनि होइन । र चासो राख्नुभयो भने सरी यो हाम्रो बाइलेटरल मामिला हो है, तपाईहरुले नेपाललाई विश्वास गर्नुस्, हामीले हाम्रा भूमि तपाईहरुको विरुद्ध प्रयोग हुन दिँदैनौं । हाम्रा कुनै पनि पोलिसीहरुले तपाईहरुलाई अप्ठ्यारो पर्न दिँदैनौं । हामी कुनै एलाईन्समा जोडिएर तपाईहरुको हितलाई प्रतिकुल प्रभाव पार्दैनौँ । हामी हाम्रो राष्ट्रिय हितलाई ध्यानमा राखेर अगाडि बढ्ने हो । यो बाईलेटरल मामिला हो । यसमा कृपया हामीलाई ट्रष्ट गर्नुस् । हामीलाई डिल गर्न दिनुस् भनेर नै जानुपर्ने हुन्छ । जति जति हामी गिजोल्छौं, आन्तरिक मामिलामा विवादित हुन्छौं, त्यतित्यति अरुहरुको सरोकार बढ्दै जाने एउटा स्थिति हुन्छ । त्यस्तो गर्न दिनुहुन्न भन्ने मलाई लाग्छ ।’

कार्यक्रममा बोल्दै जनता समाजवादी पार्टीका सांसद राजकिशोर यादवले सो परियोजनालाई राष्ट्रिय सहमती जुटाएर मात्रै अघि बढाउन उपयुक्त हुने धारणा राखे ।  उनले सो परियोजनामा सत्तारुढ काँग्रेस–एमाले पनि साझा निष्कर्षका साथ अघि बढनुपर्ने आवश्यकता समेत औँल्याए ।

सांसद यादवले परराष्ट्र नीतिलाई अघि बढाउने सम्बन्धमा राजनीतिक दलका नेताहरु जिम्मेवार भएर अघि बढ्नुपर्नेमा पनि जोड दिए ।