एनपिएल : विराटनगरलाई हराउँदै जनकपुरको विजयी सुरुवात

एनपिएल : विराटनगरलाई हराउँदै जनकपुरको विजयी सुरुवात

 काठमाडौं, १५ मंसिर । नेपाल प्रिमियर लिग (एनपिएल) को उद्घाटन खेलमा विराटनगर किंग्सलाई  ८ रनले पराजित गर्दै जनकपुर बोल्ट्सले सुखद् विजयी सुरूआत गरेको छ । 

विराटनगरले जितका लागि प्रस्तुत गरेको १ सय २८ रनको लक्ष्य पछ्याएको जनकपुरले १५.३ ओभरमा २ विकेटको क्षतिमा  १३१ रन बनाउदै पूरा गर्‍यो ।

मिलान्थाले ५३ बल खेल्दै ९ चौका र ३ छक्का मद्दतमा अविजित ७५ रन बनाए । उनलाई साथ दिएका थाकरले ३३ बलमा अविजित २६ रन बनाए ।

विराटनगरका क्रिस सोलले वाइड फालेपछि जनकपुरले पहिलो ओभरको पहिलो बलमै ११ रन बनाएको थियो । तर, सोलले आसिफ शेखलाई बोल्ड गरेर विराटनगरलाई विकेट दिलाएका थिए ।

कप्तान अनिल शाह पनि व्यक्तिगत ५ रनमा आउट हुँदा जनकपुर १५ रनमै २ विकेट क्षतिको अवस्थामा थियो । प्रतिश जिसीले कप्तान अनिललाई बोल्ड गरेका थिए ।  तर, त्यसपछि मिलान्था र हर्ष थाकरले मिलेर इनिङ्स समाल्दै तेस्रो विकेटका  लागि  शतकीय  साझेदारी गरे ।

विराटनगरका क्रिस सोल र प्रतिश जिसीले एक/एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले १९ ओभरमा सबै विकेट गुमाएर १२७ रनमात्रै जोडेको थियो ।

विराटनगरका लागि मार्टिन गप्टिलले अर्धशतक प्रहार गरेपनि अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् ।

पहिलो पटक नेपालमा आएर फ्रेन्चाइज लिग खेलेका गप्टिलले ४३ बल खेल्दै ७ चौका र १ छक्का हिर्काए । गप्टिल एनपीएलमा पहिलो अर्धशतक प्रहार गर्ने खेलाडी बने । उनले नै एनपीएलको पहिलो छक्का पनि प्रहार गरेका थिए ।

त्यसअघि एनपीएलको पहिलो चौका विराटनगरका लोकेश बमले प्रहार गरेका थिए । तर, उनलाई आउट गर्दै जनकपुरका ललित राजवंशी एनपीएलको पहिलो विकेट लिने खेलाडी बने ।

६ रनमै लोकेश बमलाई पहिलो विकेटको रुपमा गुमाएको विराटनगरक लागि गप्टिल र आकिब इल्यासले ४७ रनको साझेदारी गरेर इनिङ्स उकासेका थिए । तर, इल्यास पनि १५ रन बनाएर आउट भए ।

त्यसपछि आएका ब्याटरले गप्टिललाई राम्रो साथ दिन सकेनन् । निकोलस किर्टोन ९, बसिर अहमद ७,राजेश पुलामी मगर १, प्रतिश जिसी २, कप्तान सन्दीप लामिछाने ७, क्रिस सोल ४ र तथा जितेन्द्र मुखिया खाता नै नखोली आउट हुन पुगे । 

जनकपुरका लागि नेपाली स्पीनर ललित राजवंशीले उत्कृष्ट बलिङ गरे । ललितले पनि ४ ओभरमा  २८ रन खर्चेर सर्वाधिक ३ विकेट लिए ।

यस्तै, क्यानडियन अलराउण्डर हर्ष थाकेरले ४ ओभरमा २२ रन खर्चेर २ विकेट झारे । 

८ टिमबीच हुने एनपिएलको समापन ६ पुसमा हुनेछ । विजेतालाई १ करोड ११ लाख र उपविजेताले ५५ लाख पाउने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ । त्यस्तै, तेस्रोले ३० लाख र चौथोले २० लाख पाउने छन् । 

अब, कीर्तिपुरमा आइतबार निर्वाचन हुने हुँदा कुनै खेल राखिएको छैन । सोमबार पहिलो खेलमा काठमाडौं गुर्खाज र चितवन राइजो तथा कर्णाली याक्स र जनकपुर बोल्ट्स खेल्ने तालिका  छ ।