राष्ट्र बैंकले ५० अर्ब तरलता बजारबाट खिच्दै
काठमाडौं, १६ मंसिर । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट आज (आइतबार) ५० अर्ब रूपैयाँ खिच्ने जनाएको छ । बजारमा तरलता अधिक भएपछि राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ५० अर्ब रूपैयाँ खिच्न लागेको हो ।
राष्ट्र बैंकले २१ दिनका लागि आइतबार दिउँसो २ बजे बोलकबोलको समय निर्धारण गरेको छ। बोल गर्न सकिने रकम घटिमा १० करोड रूपैयाँ र बढीमा पाँच करोड रूपैयाँले भाग गर्दा आउने निःशेष भाग जाने गरी कूल आह्वान रकमसम्म रहेको भनिएको छ । सावाँ तथा ब्याज भुक्तानी आगामी पुस ७ गते सम्मलाई तोकिएको छ भने यसको ब्याजदर पनि बोलकबोलको माध्यमबाट हुने भएको छ ।
निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ । बहु ब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिनेछ । निक्षेप संकलन उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउने राष्ट्र बैंकले बताएको छ ।
निक्षेप संकलनको बोलकबोलमा निक्षेपबापत जम्मा गर्न चाहेको रकम र ब्याजदर (दशमलब पछिको हकमा चार अंकसम्म) उल्लेख हुनुपर्नेछ । निक्षेप संकलनको लागि भनिएको रकम बाँडफाँड गर्दा बोलबमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकतामा राखी आव्हान गरेको रकमसम्म क्रमशः बाँडफाँट हुनेछ ।
समान ब्याजदर भएका बोल रकम समावेश गर्दा कूल निष्कासित रकमभन्दा बढी भएमा ‘प्रो–रेट बेसिस’मा बाँडफाँट हुनेछ । आव्हान रकममध्ये सम्पूर्ण वा आंशिक रकमको बोल स्वीकार वा अस्वीकार गर्ने अधिकार समितिलाई हुनेछ ।
स्वीकृत भएका बोलपत्र बापतको रकम सम्बन्धित काउण्टर पार्टीको यस बैंकमा रहेको खाता खर्च गरी लिनेछ र बैंकमा संकलित निक्षेपको छुट्टै खाता खोली बैंकले जम्मा गर्नेछ ।
बोलपत्र स्वीकृत भएका काउण्टर पार्टीको खातामा उक्त उपकरण निष्कासन गर्न मौज्दात अपर्याप्त भएमा त्यस्ता काउण्टर पार्टीलाई कालोसूचीमा राखी पछिका बोलकबोलमा सहभागी हुन बन्देज गरिनेछ ।
निक्षेप संकलन उपकरणको भुक्तानी मितिका दिन तोकिएको ब्याजसहित संकलित निक्षेप रकम सम्बन्धित बैंकको यस बैंकको खातामा जम्मा गरिने राष्ट्र बैंकले उल्लेख गरेको छ ।