एनपिएल: दोस्रो जितको खोजिमा रहेको चितवनलाई पोखराको चुनौती

एनपिएल: दोस्रो जितको खोजिमा रहेको चितवनलाई पोखराको चुनौती

काठमाडौं, १८ मंसिर । नेपाल प्रिमियर लिगमा आज दिनको दोस्रो खेलमा पोखरा एभेन्जर्स र चितवन राइनोजबीच दिउँसो १ बजे प्रतिस्पर्धा हुँदैछ । यो जारी एनपिएलमा चितवन राइनोजको दोस्रो र पोखरा एभेन्जर्सको पहिलो खेल हो । सोमबार पहिलो खेल खेलेको चितवन राइनोजले काठमाडौँ गुर्खाजलाई पाँच विकेटले पराजित गरेको थियो । 

चितवन राइनोजका मार्की खेलाडी नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य कुशल मल्ल हुन् । उनीसँग पनि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल खेलेको अनुभव छ ।  चितवन राइनोजमा मल्लसहित अमरसिंह रौतेला, विपिन रावल, दीपक बोहरा, दिपेश श्रेष्ठ, गौतम केसी, कमलसिंह ऐरी, रञ्जितकुमार, रिजन ढकाल, सन्तोष कार्की, शरद भेस्वाकर छन् ।

विदेशी खेलाडी रवि बोपरा, मर्साडी लङ्गा, ल्यूक मार्टिन बेनकेन्स्टाइन, हसन इसाखिल, जान निकोल लोफ्टी–इटन पनि यसै टोलीबाट खेल्दैछन् । चितवन दोस्रो जितको खोजीमा हुनेछ ।

पोखरा एभेन्जर्सको मार्की खेलाडीमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर ब्याटर कुशल भुर्तेल छन् । उनीसँग पनि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल खेलेको अनुभव छ । 

पोखरामा कुशलसँगै सागर ढकाल, आकाश चन्द, किरणकुमार ठगुन्ना, नारायण जोशी, विपिन खत्री, दिलीप नाथ, त्रितराज दास, सुनाम गौतम, दिनेश खरेल, अमृत गुरुङ छन् ।

त्यस्तै, अमेरिकाका आन्द्रेस गौस, नेदरल्याण्ड्सका बास डे लिडे, इङ्ल्याण्डका म्याट क्रिचली, वेस्टइन्डिजका रेमन राइफर, स्कटल्याण्डका माइकल लिस्क पनि पोखराबाट खेल्दैछन् । पोखराको आइकोनिकका सुदीप आर्याल छन् । जारी एनपिएलमा पहिलो खेल खेल्न लागेको पोखरा पहिलो जितको खोजीमा हुनेछ ।