पुुरुष यु–१९ एसिया कपः आज नेपाल अफगानिस्तानसँग खेल्दै

पुुरुष यु–१९ एसिया कपः आज नेपाल अफगानिस्तानसँग खेल्दै

काठमाडौं, १८ मंसिर । संयुक्त अरब इमिरेट्स (युएई) मा जारी १९ वर्षमुनिको एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले आज अन्तिम खेल खेल्दैछ । युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा नेपालले तेस्रो अर्थात् अन्तिम खेल अफगानिस्तानसँग खेल्न लागेको हो । यो खेल नेपाली समयानुसार बिहान १०ः४५ मा सुरु हुनेछ ।

नेपालले यसअघि दुई खेल हारिसकेको छ । एसियन क्रिकेट काउन्सिल ९एसिसी०को आयोजनामा मङ्सिर १४ गतेदेखि सुरु भएको प्रतियोगिताको पहिलो खेलमा नेपाल श्रीलङ्कासँग पराजित भएको थियो । आइतबार भएको दोस्रो खेलमा नेपालले बङ्गलादेशसँग पाँच विकेटले हार व्यहोर्यो ।

नेपाली टोलीमा हेमन्त धामीको कप्तानीमा १५ सदस्य छन् । जसको उपकप्तानमा अर्जुन कुमाल छन् । टोलीमा आकाश त्रिपाठी, उत्तम थापा, मयन यादव, नरेन साउद, युनिसविक्रमसिंह ठकुरी, नरेन भट्ट, सन्तोष यादव छन् ।

यस्तै, युवराज खत्री, रोशन विश्वकर्मा, विपिनकुमार महतो, अपराजित पौडेल, अभिषेक तिवारी र रञ्जित कुमारलाई पनि टोलीमा समावेश गरिएको छ । टोलीको प्रमुख प्रशिक्षकमा शक्ति गौचन र सहायक प्रशिक्षकमा धिरेन्द्र चन्द छन् ।

एसिया कपमा घरेलु टोली युएई, नेपालसहित आठ राष्ट्र सम्मिलित छन् । आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’मा भारत, पाकिस्तान, जापान र युएई छन् समूह ‘बी’मा नेपालसहित श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तान छन् ।