सिरियामा ‘राजनीतिक समाधान’ खोज्न ‘सम्बन्धित पक्ष’लाई चीनको आग्रह
काठमाडौं, एजेन्सी । चीनको विदेश मन्त्रालयले इस्लामिक नेतृत्वको विद्रोहीले दमास्कसमा कब्जा जमाएको र बशर अल असदको दशकौँ लामो शासनको अन्त्य गरेपछि सिरियाका राजनीतिक समाधान खोज्न ‘सबै सम्बन्धित पक्षलाई’ आग्रह गरेको छ ।
बेइजिङले हालैका वर्षहरूमा सिरियासँगको सम्बन्धलाई मजबुत बनाएको छ र असदले सन् २०११ मा गृहयुद्ध सुरु भएयता मध्यपूर्व बाहिर दुर्लभ राजकीय भ्रमणका क्रममा गत वर्ष चीनको भ्रमण गरेका थिए ।
सोमबार उनलाई पदच्युत गरिएकोबारे सोधिएको प्रश्नमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले बेइजिङले ‘सिरियाको घटनाक्रमलाई नजिकबाट नियालिरहेको’ बताएकी छिन् ।
“हामी आशा गर्दछौँ, सम्बन्धित सबै पक्षहरू सिरियाली जनताको आधारभूत हितका आधारमा अगाडि बढ्नेछन् र देशमा स्थिरता कायम गर्न यथाशीघ्र राजनीतिक समाधान खोज्नेछन्,” माओ निङले नियमित पत्रकार सम्मेलनमा भनिन् ।
आफ्नो परिवारसहित रूस भागेका असदसँग चीन सम्पर्कमा छ कि छैन भन्ने प्रश्नको माओले प्रत्यक्ष जवाफ दिइनन् ।
सन् २०२३ को चीन भ्रमणका क्रममा असद र चिनियाँ राष्ट्रपति सी चिनफिङले दुई देशबीच ‘रणनीतिक साझेदारी’ को घोषणा गरेका थिए ।
सिरियाको दमास्कसस्थित चिनियाँ दूतावासले बिहीबार चिनियाँ नागरिकलाई ‘जतिसक्दो चाँडो’ सिरिया छाड्न सुझाव दिएको छ ।
सिरियाको विदेश मन्त्रालयले आइतबार सिरियाका नयाँ शासकलाई ‘चिनियाँ संस्था र कर्मचारीको सुरक्षा सुनिश्चित गर्न व्यावहारिक कदम चाल्न’ आग्रह गरेको छ ।