जनकपुरको अपराजित यात्रामाथि सुदूरपश्चिमले लगायो 'ब्रेक'

जनकपुरको अपराजित यात्रामाथि सुदूरपश्चिमले लगायो 'ब्रेक'

काठमाडौं, २६ मंसिर । सुदूरपश्चिमका स्पीनरले उत्कृष्ट प्रदर्शन गरेपछि जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएलमा) मा पहिलो पराजयको सामाना गरेको छ । आज बुधवार भएको खेलमा शीर्ष स्थानमा रहेको जनकपुर दोस्रो स्थानको सुदूरपश्चिमसँग ७२ रनले हारेको हो । 

सुदूरपश्चिमका बलरले घातक बलिङ सामु जनकपुरका ब्याटर निरिह हुँदा १२४ रनको लक्ष्य पछ्याएको जनकपुर १२.१ ओभरमा ५१ रनमै समेटियो । 

यसअघि चार खेल जितेर सानदार सुरुवात गरेको जनकपुर पहिलो पराजय व्यहोरेपछि प्लेअफका लागि अझै पर्खिनु पर्ने भएको छ । ५ खेलपछि जनकपुर र सुदूरपश्चिमको समान ८ अंक भएको छ ।

जनकपुरका लागि जोसुअ ट्रोम्पले सर्वाधिक १३ रन बनाउनु बाहेक बाँकी क्रिकेटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

सुदूरको बलिङ सामु आज जनकपुरका ब्याटरसँग कुनै जवाफ दिन सकेनन् । लगातार चार खेल जितेर अपराजित रहेको जनकपुरले सुदूर विरुद्ध बलिङमा राम्रो गरेपनि ब्याटिङमा भने निकै कमजोर प्रदर्शन गर्‍यो ।

सुदूरपश्चिमका लागि हर्मित सिंह, दीपेन्द्र सिंह ऐरी र इशान पाण्डेले २/२ विकेट लिए । सैफ जैब र नरेन साउदले समान १ विकेट लिए । स्कट कुगुलेइनेल बलिङ गरेको पहिदलो बलमै विकेट लिए ।

त्यसअघि टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरले निर्धारित २० ओभर खेल्दै ९ विकेट गुमाएर १२३ रन जोडेको थियो ।

सुदूरपश्चिमका लागि विनोद भण्डारीले सर्वाधिक ३३ रन बनाए । यसैगरी सैफ जैबले २१, इशान पाण्डेले १७ र ब्राण्डन म्याकमुलेनले ११ रन बनाए । एनपीएलमा डेब्यु गर्दै वान डाउनमा ब्याटिङ गरेका हर्मित सिंह १ रनमा आउट भए । कप्तान दीपेन्द्र सिंह ऐरीले खाता खोल्न सकेनन् । आरिफ शेख ६, स्कट कुगेलेइन ७, नरेन साउद ३ रनमा आउट भए । नरेश बुढाएर ९ रनमा अविजित रहे ।

५५ रनमा पहिलो विकेट गुमाएको सुदूरपश्चिमको इनिङ्स त्यसपछि धर्मराएको थियो । सुदूरपश्चिमका सैफ जैब र विनोद भण्डारीले पहिलो विकेटका लागि ५५ रनको साझेदारी गरेका थिए ।

हर्श थाकरले आठौं ओभरमा यो साझेदारी तोडेपछि सुदूरले नियमित अन्तरालमा विकेट गुमाउन थाल्यो । त्यसपछि कुनै पनि विकेटका लागि राम्रो साझेदारी बन्न सकेन ।

जनकपुरका लागि किशोर महतोले ४ ओभरमा ३५ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । शेर मल्लले ४ ओभरमा १९ तथा अरनिको यादवले ३ ओभरमा १६ रन खर्चेर २/२ विकेट लिए ।