स्वास्थ्य व्यवसायी परिषद्को लाइसेन्स परीक्षाको नतिजा प्रकाशित, पीसीएलतर्फ ७५.४१ प्रतिशत फेल
काठमाडौं, २७ मंसिर । नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले ११औं नाम दर्ता परीक्षाको नतिजा सर्वाजनिक गरेको छ । यसपटक स्नातकोत्तर, स्नातक र प्रमाणपत्र तहको नतिजालाई औषतमा ४४.७४ प्रतिशत रहेको देखिएको छ ।
परिषद्का अनुसार, स्नातकोत्तर तहमा ४५.९८ प्रतिशत, स्नातक तहमा ६५.६५ प्रतिशत र प्रमाणपत्र तहको लाइसेन्स परीक्षामा २२.५९ प्रतिशत उत्तीर्ण भएका छन् ।
यसपटक स्नातकोत्तर तहको लाइसेन्स परीक्षामा एमडी होमियोप्याथी, एमएस्सी अप्टोमेट्री लगायत विभिन्न १८ विषयका ८७ जनाले सहभागी भएका थिए । जसमध्ये ४० जना (४५.९८ प्रतिशत) उत्तीर्ण भएका हुन् ।
यस्तै, स्नातक तर्फ व्याचलर इन एनेस्थेसिया, व्याचलर इन अप्टोमेट्री लगायत विभिन्न १३ विषयका एक हजार ४०३ जनाले सहभागिता जनाएका थिए । त्यसमध्ये ९२१ जना (६५.६५ प्रतिशत) उत्तीर्ण भएका छन् ।
यस्तै, पीसीएल (प्रमाणपत्र तह) पीसीएल इन डेन्टल हाइजीन, पीसीएल इन फीजीओथेरापी लगायतका विभिन्न नौ विषयका एक हजार ९६१ जनाले सहभागी भएका थिए । त्यसमध्ये एक हजार ५१८ अर्थात ७५.४१ प्रतिशत अनुत्तीर्ण भएका छन् । यस्तै, ४४३ जना अर्थात २२.५९ प्रतिशत मात्रै उत्तीर्ण भएका हुन् ।
सोमबारदेखि बुधबारसम्म परीक्षा एडभान्स एजुकेशन एण्ड इनोभेटीभ रिसर्च सेन्टर प्रालि बबरमहल काठमाडौं केन्द्रमा परीक्षा सञ्चालन गरिएको थियो । उत्तीर्ण भएकाहरुको प्रमाणपत्रको वितरणका लागि पछि सूचना प्रकाशित गर्ने परिषद्ले जनाएको छ ।