बेल्जियमको लुभेनमा परराष्ट्रमन्त्री राणाले भनिन्- एनआरएन नागरिकताको नियमावली आउने तयारीमा छ
लुभेन, २७ मंसिर । परराष्ट्र मन्त्री आरजु राणा देउवाले गैरआवासीय नेपाली नागरिकताको नियमावली निर्माणका लागि परराष्ट्र, गृह र कानूनमन्त्रीबीच एक खालको सहमति भई नियमावली निर्माणको क्रममा रहेको र छिट्टै सार्वजनिक गरिने बताएकी छिन् ।
बुधबार बेल्जियमको लुभेनमा जनसम्पर्क समिति बेल्जियमद्वारा आयोजित स्वागत कार्यक्रममा परराष्ट्र मन्त्री राणाले संविधान र ऐन आइसकेको परिप्रेक्ष्यमा राजनीतिक अस्थिरताका कारण गैरआवासीय नेपाली नागरिकताको नियमावली आउन ढिलाइ भएको स्वीकार्दै अहिले मन्त्रीस्तरमा सहमति भई अन्तिम तयारी भइरहेको दाबी गरेकी हुन् ।
परराष्ट्र मन्त्री देउवाले अहिले प्रदान गरिंदै आएको गैरआवासीय नेपाली नागरिकताले संविधान प्रदत्त अधिकार व्यवहारमा उपभोग गर्ने वातावरण नबनेकोले छिट्टै नियमावलीको आवस्यकता सरकारले महशुश गरेको उल्लेख गर्दै उक्त कार्यक्रममा उनले एनआरएनएका बारेमा सर्वोच्च अदालतबाट आएका दुई निर्णयहरूमा तादम्यता नदेखिएकोले तेस्रो पक्षको उजुरीमाथिको निर्णय सरकारले कुरिरहेको पनि स्पष्ट पारिन्।
इन्टरनेसनल कोर्ट अफ जस्टिस (आईसीजे) को जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सुनुवाइमा सोमबार नेपाल सरकारका तर्फबाट सहभागिता जनाउँन परराष्ट्रमन्त्री राणा नेदरल्यान्ड्सको हेगको कार्यक्रममा आएकी थिइन्।
राष्ट्रसंघको न्यायिक निकायका रूपमा रहेको यस न्यायालयले समसामयिक विवादास्पद मुद्दाको निरूपण र खास विषयमा परामर्श दिने गर्दै आइरहेको छ ।
अदालतको सोही जिम्मेवारीअनुरूप जलवायु परिवर्तनको विषयको कानुनी निरूपण हुनुपर्ने अथवा नपर्ने भनेर निर्क्योल गर्ने क्रममा अदालतले विश्वव्यापी परामर्श लिने सन्दर्भमा नेपालकी परराष्ट्र मन्त्री सम्बोधन गर्न आएकी हुन् ।
जनसम्पर्क समिति बेल्जियमका अध्यक्ष सुभाष गुरूङको अध्यक्षतामा भएको बुधबारको कार्यक्रममा समितिका पूर्व अध्यक्षहरू ध्रुव पौडेल, गंगाधर गौतम, सीता सापकोटा, सुभाष जोशी, पूर्ण तिमिल्सिना लगायतले प्रवासमा रहेका नेपालीहरूका समस्या र चुनौतीहरूबारे धारणा राखेका थिए ।
यसैबीच रास्वपा बेल्जियमका कार्यकर्ताहरूले परराष्ट्रमन्त्री राणालाई प्रत्यक्ष रूपमा भेटेर ज्ञापन–पत्र बुझाउन खोज्दा पनि समय उपलब्ध नभएको बताएका छन् ।