कति लम्बिएला रविको हिरासत बसाइ ? प्रहरीले माग्यो थप ९ दिन
पोखरा, २७ मंसिर । रास्वपाका सभापति रवि लामिछानेको म्याद थपका लागि कास्की जिल्ला अदालत पोखरामा बहस चलिरहेको छ ।
प्रहरीले थप ९ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति माग गरी आज (बिहीबार) अदालत उपस्थित गराएको हो । अहिले न्यायाधीश चन्द्रकान्त पौड्यालको इजलासमा म्याद थपको बहस भइरहेको छ ।
प्रहरी स्रोतका अनुसार, रविलाई आज अन्तिम पटक म्याद थपेर अर्को पटक अदालत उपस्थित गराउँदा अभियोजन पत्र पनि दायर गर्ने तयारी छ ।
पूर्व उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका रविसहित ४ जनलाई अदालत उपस्थित गराइएको छ ।
गत कात्तिक २ गते काठमाडौंबाट सहकारीको रकम अपचलन प्रकरणमा पक्राउ परेका रविलाई पछिल्लो पटक थपिएको म्याद आज सकिने भएकाले फेरि अदालत उपस्थित गराइएको हो ।
गोर्खा मिडियाका पूर्व प्रवन्ध निर्देशक लामिछानेसहित पूर्व डिआइजी तथा गोर्खा मिडियाका पूर्व उपाध्यक्ष छविलाल जोशी, जीवी राईका साझेदार नेचर हब्र्सका रामबहादुर खनाल र जीवीसँग जोडिएकी लिला पछाईलाई अदालतमा उपस्थित गराइएको छ ।