युरोपबाट सिधै भारत जाँदै परराष्ट्रमन्त्री राणा

युरोपबाट सिधै भारत जाँदै परराष्ट्रमन्त्री राणा

काठमाडौं, २७ मंसिर । परराष्ट्रमन्त्री आरजु राणा देउवा युरोपबाट सिधैं भारत जाने भएकी छन् ।

परराष्ट्र मन्त्रालयको उच्च स्रोतका अनुसार, नेदरल्यान्ड्सको हेग स्थित अन्तर्राष्ट्रिय न्यायालयमा आयोजित जलवायु परिवर्तनसम्बन्धी राष्ट्रहरुको दायित्व बारे ९० देशहरुको कार्यक्रममा सहभागी हुन गएकी मन्त्री राणा उतैबाट नयाँ दिल्ली पुग्ने कार्यसूची रहेको छ । 

हाल नेदरल्यान्ड्समा रहेकी मन्त्री राणाले जर्मनी र बेल्जियमको भ्रमण गर्नेछिन् । मन्त्री राणाले समकक्षी भारतीय विदेशमन्त्री एस जयशंकर भेट्न सक्ने सम्भावना रहेको स्रोतले बतायो ।

स्रोतले भन्यो, ‘उहाँ बेल्जियम र जर्मनी पुगेर उतैबाट दिल्ली उड्ने तयारीमा हुनुहुन्छ, बाँकी कार्यसूची चाँडै थाहा हुन्छ,’ 

राणाले बेल्जियमका विदेशमन्त्री बर्नाड क्विन्टिनलाई ब्रसेल्समा, अनि जर्मनीका विदेशमन्त्री अन्नालेना बार्बोकसँग बर्लिनमा भेट गर्नेछिन् ।

राणाले बर्लिनमा समान अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुनेछिन् । त्यसपछि उनी २ पुस, मंगलबार बर्लिनबाट दिल्लीतर्फ प्रस्थान गर्नेछिन् । साउथ एसियन इकोनोमिक फाउन्डेसनले दिल्लीमा आयोजना गर्ने इन्डो नेपाल इकोनोमिक कन्क्लेभमा मन्त्री राणा भाग लिनेछिन् । 

स्रोतका अनुसार, विदेशमन्त्री जयशंकरसँग भेट्ने भ्रमणसूची तय भइनसके पनि दुई मन्त्रीहरुको भेट हुन सक्ने उच्च सम्भावना रहेको छ  ।

मन्त्री राणा २२ मंसिरमा हेग उडेकी थिइन् । उनले त्यहाँ नेपालको तर्फबाट सहभागिता जनाउँदै विकसित मुलुकले उच्च कार्बन उत्सर्जन गर्दा नेपालजस्ता देशले विना गल्ती भोग्नुपरेका समस्याबारे आफ्ना कुराहरु राखेकी थिइन् ।

अघिल्लो साता प्रधानमन्त्री केपी ओलीसँगै चीनबाट फर्केकी राणाले लगत्तै भारत भ्रमण गर्न लागेकी हुन् ।