बसिर अहमदको अर्धशतकमा विराटनगरले चितवनलाई दियो १८२ रनको लक्ष्य

बसिर अहमदको अर्धशतकमा विराटनगरले चितवनलाई दियो १८२ रनको लक्ष्य

काठमाडौं, २८ मंसिर । बसिर अहमदले अर्धशतक पूरागरेपछि विराटनगर किंग्सले  जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजलाई १८२ रनको लक्ष्य दिएको छ ।

टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८१ रनको योगफल बनाएको हो । 

एनपीएलमा आफ्नो पहिलो अर्धशतक बनाएका बसिरले अविजित ६८ रन बनाए । उनले ४४ बल खेल्दै समान ४ चौका र छक्का प्रहार गरे । यस्तै राजेश पुलामी मगरले अविजित ३३ रन जोडे । मार्टिन गप्टिलले ४५ रन बनाए ।

कमजोर सुरुवात गरे पनि इनिङ्सको अन्तिममा आक्रमक बनेको विराटनगरले अन्तिम चार ओभरमा ६९ रन बनाएको थियो । कुनैबेला १० रनमै ३ विकेट गुमाएको विराटनगर ३३/४ को स्थितिमा थियो तर बसिर र मार्टिन गप्टिलले पाँचौ विकेटका लागि ६५ रनको महत्वपूर्ण साझेदारी गरे ।

ओपनर लोकेश बम र वान डाउनमा आएका दिपक बोहरा पहिलो ओभरमै आउट भए । स्कट एडवार्ड्स दोस्रो ओभरमा आउट भए । निकोलस किर्टोन सातौं ओभरमा आउट भएपछि विराटनगरको इनिङ्स सुरुमै धर्मराएको थियो । तर, गप्टिल र बसिरले अर्धशतकिय साझेदारी गरेर विराटनगरको स्कोर माथि उकासे । 

बसिरले राजेश पुलामीसँग मिलेर छैटौं विकेटका लागि अविजित ८३ रनको अर्को अर्धशतकीय साझेदारी गरे ।

बलिङमा चितवनका रिजन ढकालले ४ ओभरमा ४० रन खर्चर २ विकेट लिए । सोहेल तनविर, बासिल हमिद, कप्तान कुशल मल्लले १/१ विकेट झारे । एनपीएलमा डेब्यु खेलमा युएईका हामिदले ४ ओभरमा १५ रन मात्र खर्चिए ।