एसीसी यू–१९ महिला एसिया कप: समूह चरणमा नेपाल अपराजित
काठमाडौं, २ पुस । एसीसी यू–१९ महिला एसिया कप क्रिकेटमा नेपालले अपराजित रहँदै सुपर फोर खेल्ने अवसर पाउने भएको छ ।
आज (मंगलबार) भएको खेलमा नेपालले भारतसँग अंक बाँडेपछि नेपाल समूह चरणमा अपराजित रहन गएको हो ।
समूह चरणको दोस्रो खेलमा निरन्तरको बर्षाले समस्या गरेपछि नतिजा नआउँदा नेपाल र भारतले अंक बाँडेका हुन् ।
नेपालले दिएको ९५ रनको लक्ष्य पछ्याउने क्रममा भारतले ३.१ ओभरमा २८–० को स्थितिमा खेल्दा पानी परेपछि खेल अवरुद्ध भएको थियो । खेल त्यसपछि सुरू हुन सकेन र नतिजा नआएपछि अंक बाँडेका हुन् ।
टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ९ विकेट गुमाएर ९४ रन जोडेको थियो । नेपालका लागि कप्तान पूजा महतोले सर्वाधिक २५ रन बनाइन् भने एलिसाकुमारी यादवले अविजित रहँदै २० रनको योगदान दिइन् ।
भारतका लागि परुनिका सिसोडियाले ४ ओभरमा १२ रन दिएर ४ विकेट लिएकी थिइन् ।
नेपालले सोमबार भएको पहिलो खेलमा पाकिस्तानलाई हराउँदै सुपर फोरमा स्थान सुनिश्चित गरिसकेको थियो । यसअघि पाकिस्तान भारतसँग पनि पराजित भएको थियो ।
नेपाल समूह बी मा दोस्रो स्थानमा रहेर सुपर फोरमा प्रवेश गरेको हो । भारतसँग अंक बराबर भएपनि नेटरनरेटका आधारमा नेपाल केही पछि पछि पर्यो ।
अब सुपर फोरमा भारत र नेपालसँगै श्रीलंका र बंगलादेश भिड्ने छन् । शीर्ष दुई टोलीले फाइनलमा उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।