चितवनलाई हराउँदै कर्णाली दोस्रो क्वालिफायरमा, बाहिरियो चितवन

चितवनलाई हराउँदै कर्णाली दोस्रो क्वालिफायरमा, बाहिरियो चितवन

काठमाडौं, ३ पुस । चितवन राइनोजलाई हराउँदै कर्णाली याक्स एनपीएलको क्वालिफायर टु मा प्रवेश गरेको छ । लिमिनेटर खेलमा कर्णालीले चितवनलाई २१ रनले हराएको हो । 

कर्णालीले अब क्वालिफायर वान को पारजित टोलीसँग क्वालिफायर टु मा प्रतिस्पर्धा गर्नेछ ।  १७६ रनको लक्ष्य पछ्याएको चितवनले १५४ रनमा मात्र सीमित भयो ।  

चितवनका लागि रवि बोपाराले अर्धशतकीय पारी खेलेपनि जितका लागि सार्थक भएन । अन्यबाट उल्लेख्य रन बनाउन सकेनन् । जिशान मकसुदले ३ विकेट लिए भने सोमपाल कामी र नन्दन यादवले २(२ विकेट लिए । विपिन प्रसाद शर्माले १ विकेट झारे । 

बोपाराले ३४ बल खेल्दै ३ चौका र ४ छक्का मदतमा ५३ रन बनाए । एनपीएलमा उनको यो तेस्रो अर्धशतक हो । कप्तान कुशल मल्लले २१ रन जोड्यो । 

त्यसअघि जयकिसन कोल्सावाला र विलियम बोसिस्टोले अर्धशतक प्रहार गरेपछि कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णाली याक्सले ६ विकेट गुमाएर १७५ रन जोडेको थियो । एनपीएलमा पहिलो खेल खेलेका कोल्सावालाले ३९ बल खेल्दै ६ चौका र २ छक्का मद्दतमा सर्वाधिक ५३ रन बनाए । यस्तै बोसिस्टोले ३९ बल नै खेल्दै ३ चौका र २ छक्का मद्दतमा ५२ रन जोडे । 

चाडविक वाल्टनले अविजित ४६ रन बनाए । २३ बल खेलेका उनले ४ चौका र ३ छक्का प्रहार गरे । जिसन मक्सुदले १४ रन योगदान गरे ।ओपनर रित गौतम र गुल्सन झाले खाता खोल्न सकेनन् । बलिङमा चितवनका सोहेल तनविरले २ तथा रवि बोपारा र कप्तान कुशल मल्लले समान एक एक विकेट लिए ।