पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्र अगाडि बढ्नुपर्छः मन्त्री पाण्डे
काठमाडौँ, ३ पुस । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री बद्री पाण्डेले पर्यटन क्षेत्रको विकासको लागि निजी क्षेत्र अगाडि नसरेसम्म विकल्प नभएको बताएका छन् ।
बुधबार काठमाडौँमा आयोजित नेपाल चीन संस्कृति र पर्यटन शिखर सम्मेलनलाई सम्बोधन गर्दै उनले सरकार मात्र अगाडि सरेर शिक्षा, स्वास्थ्य क्षेत्र विकास गर्न सकिने भन्दै पर्यटन क्षेत्रको लागि निजी क्षेत्र नै अगाडि सर्नुपर्ने बताएका हुन् ।
उनले भने, ‘पर्यटन क्षेत्रको विकासको लागि निजी क्षेत्र अगाडि नसरेसम्म कुनै विकल्प नै छैन । सरकार अगाडि सरेर स्वास्थ्य क्षेत्रमा विकासका कामहरू अगाडि बढाउन सकिन्छ, आधारभूत शिक्षामा पनि काम गर्न सकिन्छ तर पर्यटन क्षेत्रमा काम गर्नको लागि निजी क्षेत्र अगाडि बढ्नुपर्छ । निजी क्षेत्रअघि सरकारी क्षेत्र पछि अनि मात्र पर्यटनको विकास सम्भव छ ।’
यस्तै, उनले पर्यावरणमैत्री पर्यटनको विकास गर्नुपर्ने भन्दै प्रकृतिमाथिको अतिक्रमणको खतरा जोगिएर पर्यटनको विकास गर्ने कुरामा ध्यान दिनुपर्ने बताए ।
उनले भने, ‘पर्यावरणमैत्री पर्यटनको विकास यसले हाम्रो प्रकृतिलाई जोगाउने, प्रकृतिमाथिको जुन अतिक्रमणको खतरा छ त्यो खतराबाट जोगिएर पर्यटनको विकास गर्ने कुरा हामीले ध्यान दिनुपर्छ । त्यस्तै अहिले डिजिटल समयमा यो आईटिले विकासको शिखर चुमेको अवस्थामा हामीले डिजिटल माध्यमबाट डिजिटल कलचर्ल टुरिजम्लाई प्रवर्द्धन गर्ने, यसको विकास, प्रचार गर्ने काम हामीले समात्नु पर्नेछ ।’
भावनामा बगेर धेरै बोल्ने तर कार्यान्वयनमा कमजोर भएको भन्दै यसलाई सुधार गर्नुपर्ने बाटोमा जानुपर्ने पनि उनको भनाइ छ ।