मेडिकल व्यवसायी दुर्गा प्रसाईंको रिट खारेज, ऋण असुली गर्न बैंकलाई बाटो खुला

मेडिकल व्यवसायी दुर्गा प्रसाईंको रिट खारेज, ऋण असुली गर्न बैंकलाई बाटो खुला

काठमाडौं, ३ पुस । बैंक ऋण नतिर्ने अभियान चलाएका गरेका मेडिकल व्यावसायी दुर्गा प्रसाईंले बैंकविरुद्ध दायर गरेको रिट अदालतले खारेज गरिदिएको छ । योसँगै उनले बैंकबाट लिएको ऋण असुलीको बाटो खुलेको छ ।

बैंकले ऋण असुल गर्न ताकेता गरेको थियो । त्यसपछि प्रसाईंले उच्च अदालत विराटनगर, इलाम इजलासमा निषेधाज्ञाको मागसहित रिट निवेदन दिएका थिए । मंगलबार मुख्य न्यायाधीश विपुल न्यौपाने र न्यायाधीश काजीबहादुर राईको इजलासले उक्त रिट खारेज गरेको हो ।

कुमारी बैंकको विर्तामोड शाखासहित चार वटा बैंकविरुद्ध प्रसाईंको तर्फबाट टीकाराम अधिकारीले दायर गरेको रिट खारेज भएपछि अब बैंकलाई ऋण असुली गर्ने बाटो खुलेको छ ।

प्रसाईंले पूर्वाञ्चल क्यान्सर अस्पताल सञ्चालनका लागि चार वटा बैंकबाट ऋण लिएका थिए । पछिल्लो दुई वर्षयता उनले बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण नतिर्ने र मिनाहा हुने बताउँदै आएका थिए । 

ग्रामिण क्षेत्रमा काम गरिरहेका लघुवित्त वित्तीय संस्थाको लगानी र ऋण असुली प्रसाईंको अभियानका कारण प्रभावित बन्दै आएको थियो । वित्तिय संस्थाविरुद्ध गतिविधि गर्न प्रसाईंले समूह नै बनाएका थिए । आफ्नै अस्पतालका लागि लिएको ऋणको असुली रोक्नका लागि भने उनी अदालत ढोका पुगेका थिए । 

मंगलबार रिट खारेज भएको उच्च अदालत विराटनगर, इलाम इजलासका सूचना अधिकारी युगेनकाजी बान्तवाले जानकारी दिए । ‘रिट निवेदकले विपक्षी बैंक उपर यसै निवेदनलाई उल्लिखित ऋण कर्जाको विषयलाई लिएर करारको यथावत परिपालन गराइ पाउँ भनी मुद्दा दायर गरी साधारण क्षेत्राधिकार अन्तरगत कानुनी उपचारको प्रक्रिया अवलम्बन गरिसेकको देखिएको,’ रिट खारेज गर्दै अदालतले भनेको छ, ‘‘मिति २०८०/१/१० को पत्रको प्रयोजन नै समाप्त भइसकेको देखिएकोसमेतबाट प्रस्तुत निवेदनमा निवेदकको माग बमोजिमको आदेश जारी गर्नुपर्ने विद्यमान अवस्था देखिएन ।’

कुमारी बैंकको शाखा कार्यालय विर्तामोडसहित चार वटा बैंकलाई प्रतिवादी बनाएर २०८० असार ८ गते निषेधाज्ञाको मागसहित रिट दायर गरेका थिए । यो रिटमा इलाम इजलासले २०८० असार १० गते कारण देखाउ आदेश दिएको थियो । १८ पटक पेशी चढेको यो रिटको सुनुवाइ ९ पटक स्थगित गरिएको थियो । 

मंगलबारको फैसलापछि भने बैंकलाई ऋण असुलीको बाटो खुलेको हो । प्रसाईंले ऋण नतिरे धितो लिलामीबाट बैंकले ऋण असुल गर्न सक्नेछन् । पूर्वाञ्चल क्यान्सर अस्पतालका लागि दुर्गा प्रसाईंले चार वटा बैंकबाट २ अर्बभन्दा बढी ऋण लिएका छन् ।

 गत चैतमा सर्वोच्च अदालतले प्रसाईंलाई बी एन्ड सी मेडिकल कलेज सञ्चालनका लागि बाटो खोलिदिएको थियो । प्रसाईं भारतीय गुण्डा नाइके लरेन्स विस्नोयीको नाममा नेपाली व्यवसायीलाई धम्की दिएको आरोपमा पक्राउ परेका व्यक्तिसँग कनेक्सन देखिएको अभियोगमा प्रहरी हिरासतमा छन् ।

गत मंसिर ४ गते फर्जी कागजात देखाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध भिडियो बनाएर भ्रम फैलाएको भन्दै प्रसाईंलाई गिरफ्तार गरिएको थियो । विद्युतीय कारोबार ऐन २०६३ अनुसार दर्ता भएको मुद्दामा उनलाई जिल्ला अदालत काठमाडौंले ४० हजार धरौटीमा छाड्ने आदेश जारी गरेको थियो । यद्यपी, संगठित अपराध र अपराधिक लाभको कसूरमाथिको अनुसन्धान जारी रहेकाले उनी छुटेनन् ।