‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ को चौँथो संस्करण हुँदै
काठमाडौँ, ४ पुस । ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’को चौँथो संस्करण आगामी वैशाखमा हुने भएको छ । सेलिब्रेटी नेपालले तीन वर्षदेखि आयोजना गर्दै आएको महोत्सवले पर्यटन प्रवर्द्धनसँगै नेपाली चलचित्रलाई ग्रामीण बजारमा पुर्याउने विश्वास लिइएको हो ।
महोत्सवका अध्यक्ष रघुनाथ सापकोटाले भने, “महोत्सवमा नेपाली मौलिक ग्रामीण कथावस्तुमा बनेका चलचित्र समावेश गर्दै आएका छौँ । यसले चलचित्र भवन नभएका गाउँका दर्शकलाई पनि चलचित्रसँग जोड्छ भन्ने हाम्रो विश्वास छ । विगतका शृङ्खलाले पनि स्थानीयलाई चलचित्रसँग सामिप्यता बनाउन सघाँएको पाएका छौँ ।” उनले महोत्सवका लागि चलचित्र दर्ता आह्वान गरिएको बताउँदै वृतचित्र, छोटा चलचित्र, भाषाभाषीका चलचित्रलाई समावेश गरिने जानकारी दिए ।
‘आफ्नै गाउँ, आफ्नै ठाउँ, आफ्नै भाषा, आफ्नै चलचित्र’ भन्ने मूल नाराका साथ आयोजना हुने महोत्सवमा चलचित्र प्रदर्शनीसँगै अन्तरक्रिया, कार्यशाला गोष्ठी आयोजना गरिने अध्यक्ष सापकोटाले बताए।
गोरखाको लाप्राकबाट सुरु गरिएको महोत्सवको दोस्रो शृङ्खला काभ्रेपलाञ्चोकको भकुण्डेबेँसीमा र तेस्रो शृङ्खला रामेछापमा आयोजना गरिएको थियो ।