जनकपुरले कर्णालीलाई २ विकेटले हरायो, एनपीएलको उपाधिका लागि सुदूरपश्चिमसँग भिड्ने

जनकपुरले कर्णालीलाई २ विकेटले हरायो, एनपीएलको उपाधिका लागि सुदूरपश्चिमसँग भिड्ने

काठमाडौं, ४ पुस । सुदूरपश्चिम रोएल्स र जनकपुर बोल्ट्सबीच नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणको फाइनलमा भिडन्त हुने भएको छ ।

बिहीबार भएको क्वालिफायर टु मा कर्णाली याक्समाथि २ विकेटको जित निकाल्दै जनकपुर बोल्ट्सले सुदूरपश्चिमसँग उपाधि भिडन्त गर्ने पक्कापक्की गरेको हो । 

यसअघि बुधबार भएको क्वालिफायर वान मा सुदूरपश्चिमले जनकपुरलाई नै हराउँदै फाइनलमा स्थान बनाइसकेको छ । लिग चरणमा शीर्ष दुई स्थानमा रहेको दुई टिम नै अन्ततः फाइनलका दाबेदार भएका हुन् ।

यी दुई टोली लिग र प्लेअफमा गरी दुई पटक भेट हुँदा दुवै पटक सुदूरपश्चिमले जित हात पारेको थियो । तेस्रो भेटमा पनि सुदूरपश्चिम हावी होला अथवा जनकपुरले बदला लेला त्यसका लागि भने शनिवारको फाइनल नै पर्खिनुपर्नेछ । 

सुदूरले लिग चरणमा खेलेकव ७ मध्ये ६ खेल जित निकालेको थियो भने चितवन राइनोजसँग मात्र हराएको थियो । जनकपुरले लिग चरणमा चितवनसहित सुदूरपश्चिमसँग पनि पराजित भएको थियो । 

सुदूरले समूह चरणमा लयलाई कायम राख्दै क्वालिफायर वान जितेर फाइनल पुग्ने पहिलो टोली बन्दा जनकपुरले पाएको अर्को मौका सदुपयोग गर्‍यो । कर्णाली याक्स एलिमिनेटरमा चितवन राइनोजलाई पराजित गरेर क्वालिफायर टु मा पुगेको थियो । जनकपुरले पाएको अवसरमा कर्णालीलाई लो स्कोरिङ खेलमा हराएको गरेको हो ।

कर्णालीले दिएको ११९ रनको लक्ष्य जनकपुरले १९ ओभर खेल्दै ८ विकेटको क्षतिमा पूरा गरेको थियो ।

जनकपुरका लागि नाकय बनेका जीमी नीशमले आक्रमक ब्याटिङ गर्दै सर्वाधिक ४५ रन जोडे ।  कर्णाली याक्सका युवा स्पीनर विपिन प्रसाद शर्माले ३ विकेट झारेका थिए ।