वर्षाका कारण ११ ओभरमा झारिएको खेलमा नेपालले बंगलादेशलाई दियो ५५ रनको लक्ष्य
काठमाडौं, ५ पुस । एसीसी यू–१९ महिला एसिया कप अन्तर्गत सुपर फोरको खेलमा नेपालले बंगलादेशसामु ५५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
वर्षाले प्रभावित बनेको खेल ११ ओभरमा छोट्याइएपछि टस हारेर पहिले ब्याटिङमा उत्रिएको नेपालले ८ विकेटको क्षतिमा ५४ रन जोडेको हो ।
नेपालका लागि सावित्री धामीले सर्वाधिक ११ रन जोडिन् । नेपालका चार खेलाडी रनआउट हुँदा बंगलादेशका चार बलरले १/१ विकेट झारे ।
फाइनलमा स्थान सुनिश्चित गर्नका लागि नेपालसामु आजको खेलमा जित्नैपर्ने दबाब छ । फेरि वर्षा भएर खेल रद्द भएको खण्डमा बंगलादेश नै फाइनलमा पुग्ने छ ।
यसअघि नै भारत फाइनलका लागि छनोट भइसकेको छ ।