शुक्रबार ०१ फागुन, २०८२

२० करोडले बढ्यो हेटौँडा उपमहानगरको बजेट

२० करोडले बढ्यो हेटौँडा उपमहानगरको बजेट

हेटौंडा, ५ पुस । चालु आर्थिक वर्ष २०८१/०८२ को असारमा ल्याएको बजेटलाई संशोधन गर्दै हेटौंडा उपमहानगरपालिकाले बजेट वृद्धि गरेको छ  । शुक्रबार भएको १६ औं नगर सभाले बजेट संशोधन प्रस्ताव पारित गर्दै २० करोड बजेटको आकार बढाएको हो।

उपमहानगरको नगर सभाले उपप्रमुख राजेश बानियाँले चालू आर्थिक वर्ष २०८१/०८२ को हालसम्मको प्रगति समिक्षा तथा संशोधित कार्यक्रम प्रस्तुत गर्दै संसोधन सहितको २ अर्ब ७२ करोड रुपियाँको बजेट पास गरेका थिए। उपमहानगरले यसअघि २ अर्ब ५२ रुपैयाँको बजेट ल्याएको थियो ।

उपमहानगरले अनिवार्य दायित्व सिर्जना भएका खर्चहरु व्यवस्थापनका लागि गत असारमा पास भएका बजेटमा लागि १९ करोड ९७ लाख १० हजार रुपियाँ थप गरेको हो।

चालू आर्थिक वर्षमा बहुवर्षीय योजनाको भुक्तानी तथा पूर्वाधार योजनाको लागि ५ करोड, सिमलटार खानेपानी योजनाका लागि ५० लाख, कार्यालयको इन्धन व्यवस्थापनका लागि १ करोड, कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चका लागि २३ करोड, समुदायिक बिद्यालयको इसिडि शिक्षक तथा बिद्यालय कर्मचारी प्रोत्साहनका लागि १ करोड २२ लाख सहित बिभिन्न १२ शिर्षकमा दायित्व अनुमान गरेर  उपमहानगरले बजेट संसोधन प्रस्ताव पारित गरेको हो । 

नगर सभाले स्रोत व्यवस्थापनका लागि आन्तरिक आयतर्फको ढुंगा गिट्टी बालुवाको ‘आईईई’ गरी ठेक्काको चरणमा रहेको, करको दायरा बृद्धि गर्ने कार्यका लागि व्यवसाय दर्ता गराउन घुम्ती शिबिर सञ्चालन गर्ने र खर्च नहुने बजेट शिर्षकबाट स्रोत व्यवस्थापन गरेर अगाडि बढ्ने निर्णय गरेको छ।

आगामी चैत मसान्तसम्म योजना सम्झौता गरी जेठ मसान्तसम्म योजना सम्पन्न गर्ने निर्णय नगर सभाले गरेको उपमहानगरका प्रवक्ता सबिन न्यौपानेले बताए ।

उपमहानगरले चालु आर्थिक वर्षको मंसिर मसान्तसम्ममा संघीय समानीकरण तथा सशर्त अनुदानतर्फ ४५ करोड ८ लाख ९० हजार, प्रदेश सरकार समानीकरण तथा सर्शत र समपुरक अनुदानतर्फ ३ करोड ८ लाख ९० हजार, संघीय र प्रदेश सरकारबाट राजश्व बाँडफाँडतर्फ १४ करोड ६८ लाख ९ हजार, आन्तरिक स्रोत र गतवर्षको मौज्दातबाट २० करोड ६२ लाख १७ हजार र नगर विकास कोषबाट ऋण १ करोड ४८ लाख ४२ हजार गरी ३२ दश्मलब २३ प्रतिशत आम्दानी गरेको प्रतिवेदनमा बताइएको छ ।

प्रतिवेदन उल्लेख भए अनुसार उपमहानगरले मंसिर मसान्तसम्म ४५ करोड ११ लाख ६८ हजार रुपैयाँ विभिन्न शिर्षकमा खर्च गरेको छ । नगर सभाले खानेपानी, सरसफाई तथा स्वच्छता सम्बन्धि विद्येयक २०८१, संघ सस्था दर्ता नियमन गर्ने सम्बन्धी विद्येयक २०८१, हेटौंडा उपमहानगरपालिका शिक्षा ऐन दोस्रो संशोधन विद्येयक २०८१, वाताबरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ को दोस्रो संशोधन विद्येयक २०८१ सर्बसम्मत पारित गरेको प्रवक्ता न्यौपानेले जानकारी दिए ।