एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलको दाबी- ऐतिहासिक परिवर्तनमा कांग्रेस र एमाले एकताबद्ध

एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलको दाबी- ऐतिहासिक परिवर्तनमा कांग्रेस र एमाले एकताबद्ध

काठमाडौँ, १० पुस । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ऐतिहासिक परिवर्तनका साथै मुलुकमा सङ्कट उत्पन्न भएका बेला कांग्रेस र एमाले एकताबद्ध भएर अघि बढेका बताएका छन् । 

नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालद्वारा आज यहाँ संयुक्त रूपमा आयोजित नेपाल पत्रकार महासङ्घका नवनिर्वाचित कार्यसमितिलाई बधाई ज्ञापन कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पोखरेलले मुलुकमा भएका ऐतिहासिक परिवर्तनमा कांग्रेस र कम्युनिष्ट पार्टी एकढिक्का भएर लागेका इतिहास साक्षी रहेको उल्लेख गरे । 

उनले कांग्रेस र कम्युनिष्ट मिलेर काम गर्दा ऐतिहासिक जित हासिल भएका उदाहरणहरू रहेका जिकिर गरे। “मुलुकमा सङ्कट आउँदा दुवै पक्ष एकताबद्ध भएर मिलेर काम गरेका छन् र ऐतिहासिक जित हासिल गरेका छन् । तर आवश्यकता अनुसमर कतिपय अवस्थामा कांग्रेस र एमाले प्रतिस्पर्धी पनि बनेका छन्”, वरिष्ठ उपाध्यक्ष पोखरेलले भने । 

वरिष्ठ उपाध्यक्ष पोखरेलले कुनै पनि राजनीतिक दलबीच स्वस्थ प्रतिस्पर्धा हुनुपर्नेमा जोड दिँदै कांग्रेस र कम्युनिष्टबीच पनि अस्वस्थ प्रतिस्पर्धा नरहोस् भनेर सावधानी अपनाउने गरिएको धारणा राखे। उनले राजनीतिक पार्टी फरक–फरक भए पनि आधारभूत विषय देश भक्ति र मुलुकको पूर्वाधार विकास रहेको जिकिर गरे ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले नेपाल, भारत र चीनबीच घनिष्ठ र मैत्रीपूर्ण सम्बन्ध रहेको बताउँदै त्यसमा सबै संवेदनशील हुनुपर्नेमा जोड दिए ।

“हामी नेपालीबीच देशको प्रेम र देशभक्तिको भाव अत्यधिक छ”, उनले भने, “राजनीतिक पार्टी फरक भए पनि नागरिकलाई प्राथमिकतामा राखी मुलुकको विकासमा सबै दल केन्द्रित छौँ । हामी दुई ठूला मुलुक भारत र चीनको बीचमा छौ, यो सम्बन्ध प्रगाढ बनाउन सबै संवेदनशील हुनु जरुरी छ ।”