कर्णाली डेभलपमेन्ट बैंक समस्याग्रस्त घोषित, जिम्मेवारी सम्हाल्न तीन सदस्यीय समिति गठन
काठमाडौं, १० पुस । कर्णाली विकास बैंकलाई नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गर्ने निर्णय गरेको छ । आज (बुधबार) बसेको राष्ट्र बैंकको सञ्चालक समिति बैठकले बैंकलाई समस्याग्रस्त घोषणा गरेको हो ।
साथै बैंक तथा वित्तीय संस्था नियमन विभागका उपनिर्देशक टीकाराम खतिवडाको संयोजकत्वमा उक्त संस्था सञ्चालनका लागि तीन सदस्यीय व्यवस्थापन समिति बनाइएको छ ।
व्यवस्थापन समितिमा वित्तीय संस्था सुपरीपेक्षण विभागका उपनिर्देशक विष्णुकुमार विश्वकर्मा र कानुन महाशाखाका उपनिर्देशक जुगल किशोर कुशवाहा रहेका छन् ।
बिहीबारदेखि नै उक्त समितिले बैंकको तोकिएको जिम्मेवारी सम्हाल्नेछ । संस्थाको विशेष साधारणसभाको समेत काम, कर्तव्य र अधिकारको प्रयोग गर्नेगरी अख्तियारी समेत उक्त समितिलाई नै दिइएको छ ।
राष्ट्र बैंकका अनुसार, समितिलाई सर्वसाधारणको हित संरक्षणलाई केन्द्रित गर्दै बचतकर्ताको बचत भुक्तानी र संस्थाको ऋण असुलीलाई प्राथमिकता दिई कार्य गर्ने, संस्थाको ड्यु डेलिजेन्स अडिट सम्पन्न गराउन आवश्यक कार्य गर्ने, संस्थामा भएका वित्तीय अपचलनउपर आवश्यक छानबिन गरी कानुनी कारबाही प्रक्रिया अघि बढाउने सहितका अख्तियारी दिइएको छ ।
नेपालगन्जमा रहेको यस विकास बैंकले तोकिए बमोजिमको पूँजीकोष अनुपात कायम नगरेको, निष्क्रिय कर्जा अनुपात ४०.८५ प्रतिशत पुगेको लगायत समस्या देखिएपछि राष्ट्र बैंकले मंसिर ११ गते शीघ्र सुधारात्मक कारबाही प्रक्रिया अघि बढाएको थियो ।
‘संस्थालाई यथास्थितिमा सञ्चालन हुन दिँदा निक्षेपकर्ताको हित सुरक्षित नहुने र बैंकिङ प्रणालीप्रति अविश्वास सिर्जना हुने अवस्था देखिएकाले संस्थालाई समस्याग्रस्त घोषणा गरी यस बैंकको नियन्त्रणमा लिइएको हो’ राष्ट्र बैंकले जनाएको छ ।