कम्युनिष्ट नेता मोहन वैद्य किरण अस्पताल भर्ना
काठमाडौं, १२ पुस । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव मोहन वैद्य किरणलाई अस्पताल भर्ना गरिएको छ । श्वासप्रश्वासमा समस्या देखिएपछि ७८ वर्षीय वैद्यलाई विहीबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको हो ।
विहीबार माओ दिवसको अवसरमा आयोजित कार्यक्रममा वैद्य सहभागी थिए । त्यसपछि स्वास्थ्यमा समस्या भएपछि उनलाई अस्पताल लगिएको थियो । चिकित्सकहरुले भर्ना हुनुपर्ने भनेपछि उनलाई भर्ना गरिएको हो ।
गत महिना आयोजित एकता महाधिवेशनको बेला पनि स्वास्थ्यमा समस्या उत्पन्न भएपछि पूरै समय बन्दसत्रमा उपस्थिति जनाउन सकेनन् ।
गत वर्ष पनि उनलाई त्रिवि शिक्षण अस्पतालमा झण्डै एक साता भर्ना गरेर उपचार गरिएको थियो ।