सुजुकी मोटर कम्पनीका संस्थापकको निधन
काठमाडौं, १२ पुस । जापानको सुजुकी मोटरको पूर्वअध्यक्ष ओसामु सुजुकीको निधन भएको छ । सुजुकी मोटरमा ४० वर्षभन्दा बढी नेतृत्व गरेका उनको ९४ वर्षको उमेरमा निधन भएको हो ।
ओसामुले सिजुओकामा मुख्यालय रहेको सुजुकी मोटरलाई संसारकै अग्रणी मोटर कम्पनमा रूपान्तरण गर्न भन्दै सन् २०२१ मा कम्पनीको नेतृत्व छाडेका थिए ।
ओसामु सन् १९३० मा जनवरी ३० मा जापानको एक किसान परिवारमा जन्मिएका थिए । उनी उनको परिवारका चौथो सन्तान थिए । सुरुवातमा राजनीति गरेका उनले पछि सुजुकी परिवारमा विवाह गरेपछि गाडी उद्योगमा करियर थालेका थिए ।
टोक्योस्थित चुओ विश्वविद्यालयबाट कानुनमा स्नातकोत्तर गरेका ओसामुले एउटा विद्यालयमा कनिष्ठ शिक्षक र रात्रि सुरक्षाकर्मीको जागिर समेत गरेका थिए । १९५३ मा उच्च शिक्षा सकेपछि उनले केही समय बैंकमा पनि जागिर गरेका थिए । लगत्तै सुजुकी परिवारमा विवाह गरेपछि उनले सुजुकी परिवारको व्यापार सम्हालेका थिए ।
काम गर्दै गएपछि सन् १९७८ मा ओसामुले सुजुकी मोटरको नेतृत्व लिएका थिए । त्यसपछि उनले सुजुकीका मिनिकार र मोटरसाइकललाई विश्व बजारमा पुर्याएका थिए ।
सुजुकी मोटरलाई उत्तर अमेरिकाको बजार प्रवेश गराउन ओसामुले अमेरिकाको जनरल मोटर्स र युरोपको बजार छिर्न फक्सवागनसँग रणनीतिक गठबन्धन गरेका थिए ।
त्यसैगरी भारतमा कम मूल्यका साना गाडी बिक्री गरेर बजार नेतृत्व गराउन पनि ओसामुले महत्त्वपूर्ण योगदान गरेको सुजुकी मोटर कम्पनीले जनाएको छ ।
शुक्रबार निधन भएका ओसामु सुजुकीका श्रीमती र तीन छोराछोरी रहेका छन् ।
११५ वर्ष अगाडि स्थापना गरिएको सुजुकी मोटरले सन् २०२१ मा ३५ खर्ब ६८ अर्ब येन बराबर आम्दानी गरेको थियो । यो यसले ३९ लाख युनिट सवारी उत्पादन गरेको थियो । अहिलेसम्म कम्पनीमा ७० हजार जनाले रोजगरारी प्राप्त गरेका छन् ।