भारतका पूर्वप्रधानमन्त्री सिंहको राजकीय सम्मानकासाथ अन्त्येष्टि

भारतका पूर्वप्रधानमन्त्री सिंहको राजकीय सम्मानकासाथ अन्त्येष्टि

काठमाडौं, १३ पुस । भारतको आर्थिक उदारीकरणका लागि महत्वपूर्ण भूमिका खेलेका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको राजकीय अन्त्येष्टि अघि उनको पार्थिव शरीरमा श्रद्धाञ्जलि अर्पण गर्न उहाँका शुभचिन्तक शनिबार भारतको राजधानी दिल्लीमा भेला भएका छन् ।

सन् २००४ देखि २०१४ सम्म राष्ट्रपतिको जिम्मेवारी सम्हालेका सिंहको बिहीबार ९२ वर्षको उमेरमा निधन भएपछि सात दिनको राष्ट्रिय शोक घोषणा गरिएको छ ।

फूलको मालाले ढाकिएको उनको पार्थिव शरीरलाई श्रद्धाञ्जलिका लागि नयाँ दिल्लीस्थित कांग्रेस पार्टीको मुख्यालयमा लगिएको छ ।

उनको पार्थिव शरीरलाई पूर्ण राजकीय सम्मानका साथ आजै अन्त्येष्टि गरिनेछ । 

उनको अन्त्येष्टिमा प्रधानमन्त्री नरेन्द्र मोदीलगायतका नेताहरूको सहभागिता हुने बताइएको छ । प्रधानमन्त्री मोदी सिंहलाई भारतका ‘विशिष्ट नेता’ मध्ये एक व्यक्ति भएको उल्लेख गरेका छन् ।

विपक्षी काङ्ग्रेसका नेता राहुल गान्धीले आफूले एक गुरु र मार्गदर्शक गुमाएको बताउँदै सिंहले अपार बुद्धि र निष्ठाका साथ भारतको नेतृत्व गरेको बताएका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले सिंहलाई ’सच्चा राजनेता’ को संज्ञा दिँदै भने, “उहाँले आगामी पुस्ताका लागि भारत र समग्र विश्वलाई बलियो बनाउने ऐतिहासिक प्रगतिको खाका तयार पार्नुभएको छ ।”

कर्मचारीबाट राजनीतिमा आएका पूर्व प्रधानमन्त्री सिंहको पहिलो कार्यकालमा आर्थिक उछालका लागि उनलाई उच्च सम्मान गर्ने गरिएको छ । 

सिंहको दोस्रो कार्यकालमा भने केही भ्रष्टाचारका ठूला काण्ड, सुस्त आर्थिक वृद्धि र उच्च मुद्रास्फीतिको शृङ्खलापछि सन् २०१४ मा काङ्ग्रेसबाट प्रतिस्पर्धी भारतीय जनता पार्टीले सत्ता लिन सफल भएको थियो । 

सन् १९३२ मा हाल पाकिस्तानमा रहेको गह गाउँमा जन्मिएका सिंहले तत्कालीन बेलायतशासित भारतमा गरिबी उन्मूलनको उपाय खोज्न अर्थशास्त्रको अध्ययन गरेको बताउने गर्थे। 

उनले क्याम्ब्रिज विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेका थिए भने अक्सफोर्डबाट विद्यावारिधी पूरा गरेका थिए । सिंहले वरिष्ठ निजामती सेवामा उत्कृष्ट प्रदर्शन गरेका थिए ।

भारतीय केन्द्रीय बैङ्कको गभर्नरको रूपमा काम गरेका थिए । संयुक्त राष्ट्र सङ्घलगायत विश्वव्यापी निकायहरूमा विभिन्न कामको नेतृत्वसमेत लिएका थिए । 

सन् १९९१ मा तत्कालीन कांग्रेस प्रधानमन्त्री पीभी नरसिंह रावले उनलाई अर्थमन्त्रीको रूपमा सेवा गर्ने र भारतलाई आधुनिक इतिहासको सबैभन्दा खराब वित्तीय सङ्कटबाट मुक्त गर्ने जिम्मा दिएका थिए। उनीअर्थमन्त्रीका रूपमा दिएको सफलताले उनलाई दुई कार्यकालसम्म प्रधानमन्त्री बन्ने बाटो खुलेको थियो । 

आफ्नो पहिलो कार्यकालमा सिंहले नौ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य प्राप्ति गर्दै भारतीय अर्थतन्त्रलाई कुशल नेतृत्व प्रदान गरेका थिए ।

उनले संयुक्त राज्य अमेरिकासँग ऐतिहासिक आणविक सम्झौतामा हस्ताक्षर गरेका थिए  जसले भारतलाई भारतको बढ्दो ऊर्जा आवश्यकता पूरा गर्न मद्दत गर्नेछ ।

भारतीय राष्ट्रपति द्रौपदी मुर्मूले सिंहलाई श्रद्धाञ्जलि दिँदै भनेकी छिन्, “सिंहलाई राष्ट्रका लागि उहाँको सेवा, निष्कलङ्क राजनीतिक जीवन र परम विनम्रताको लागि सधैं सम्झना गरिनेछ।”