कीर्तिपुरमा उम्मेदवार नउठाइएको विषयमा रास्वपाभित्र उठ्यो प्रश्न
काठमाडौं, १४ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा कीर्तिपुरको उपनिर्वाचनमा उम्मेदवारी नदिएको विषयलाई बैठकको एजेन्डा बनाउनुपर्ने माग उठेको छ ।
रास्वपा केन्द्रीय सदस्य विजय जैरुले कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीलाई सो विषयलाई बैठकको एजेन्डा बनाउन माग गरेका हुन् ।
उनले कीर्तिपुरमा उम्मेदवारका बारेमा जिम्मेवारी दिएका व्यक्तिसँग सोधपुछ गर्नुपर्ने माग गरेका छन् । गएको उपनिर्वाचनमा कीर्तिपुरमा रास्वपाले उम्मेदवार उठाएको थिएन ।
केन्द्रीय कार्यालयमा केन्द्रीय सदस्य जैरुले आज (आइतबार) बैठकमा उठाउनुपर्ने एजेन्डा समेटिएको पत्र कार्यवाहक महामन्त्री बुर्लाकोटीलाई बुझाएका हुन् ।
बैठकमा २०८४ सालसम्म प्रतिपक्षमा बस्ने विषयलाई पनि छलफलको एजेन्डा बनाउनु पर्ने उनले माग गरेका छन् ।
रास्वपाको विस्तारित केन्द्रीय समितिको बैठक १९ देखि २१ पुससम्म बस्नेगरी बोलाइएको छ । २०८४ सालसम्म रास्वपा प्रतिपक्षमा बस्ने र सरकारमा जानेरनजाने विषयमा छलफल हुनुपर्ने जैरुको माग राखेका छन् । वडा अध्यक्षका लागि गैरदलीय उम्मेदवार बनाउनु पर्ने विषयमा छलफलको माग पत्रमा उल्लेख गरिएको छ ।