मंगलबार ०५ फागुन, २०८२

इटहरीको शंकास्पद वस्तु नेपाली सेनाद्वारा निष्कृय, बोरामा पुराना कपडामात्र भेटिए

इटहरीको शंकास्पद वस्तु नेपाली सेनाद्वारा निष्कृय, बोरामा पुराना कपडामात्र भेटिए

विराटनगर, १६ पुस । सुनसरीको इटहरी उपमहानगरपालिकाको कार्यालय अगाडि भेटिएको शंकास्पद वस्तु नेपाली सेनाको टोलीले निष्कृय पारेको छ ।

आज बिहान उपमहानगरपालिका कार्यालयसहित तीन ठाउँमा बम राखेको जानकारी प्रहरीलाई दिइएको थियो। सो सूचनामा भनिए अनुसार पालिकाको कार्यालय अगाडि कालो झोला फेला परेको थियो ।

उक्त शंकास्पद वस्तु बिहान नेपाली सेनाको टोलीले डिस्पोज गरेको हो । कार्यालय अगाडि प्रेसर कुकरमा तार बेरेर छाडिएको प्रहरीले जनाएको छ ।

राजावादी समूहको नाममा प्रहरीलाई सूचनामा उपमहानगरको कार्यालयसँगै भोटेपुल र बुढी खोला पुल मुनि पनि बम राखेको दाबी गरिएको थियो ।

पालिकाको कार्यालय अगाडि शंकास्पद वस्तु फेला परे पनि भोटेपुलमा शंकास्पद वस्तु फेला नपरेको र उनले शंकास्पद वस्तु राख्नेको खोजी भइरहेकोजिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक सुमन तिम्सिनाले बताए । 

मोरङ र सुनसरीको सीमा रहेको बुढीखोला पुल मुनि एउटा बोरा भेटिएको थियो । शंकास्पद भनिएको बोरामा पुराना कपडामात्र भेटिएको मोरङ प्रहरी प्रवक्ता डिएसपी वेदप्रकाश जोशीले बताए ।