जीवन बीमा क्षेत्रमा नकारात्मक परिदृष्य: ५ महिनामा ६ अर्बका ४५ हजार बिमा पोलिसी सरेन्डर

जीवन बीमा क्षेत्रमा नकारात्मक परिदृष्य: ५ महिनामा ६ अर्बका ४५ हजार बिमा पोलिसी सरेन्डर

काठमाडौंं, १६ पुस । बीमा गराएर बिचमै छाड्ने बिमितको संख्या बढ्दै गएको छ । चालु आर्थिक वर्ष २०८१/८२ को पाँच महिनाको अवधिसम्म ६ अर्ब १० करोड ७२ लाख ४२ हजार रुपैयाँको  बीमालेख परित्याग गरिएको हो । मंसिर मसान्तसम्म १४ वटा बीमा कम्पनीको ४५ हजार ६० वटा बीमालेख सरेन्डर भएका बीमा प्राधिकरणले जनाएको छ ।

पछिल्लो एक महिनामा भने बिमितले १ अर्ब २७ करोड ७५ लाख रुपैयाँबराबरको  बीमालेख सरेन्डर गरेका छन् । गत कात्तिकसम्म कुल ४ अर्ब ८२ करोड ९७ लाख रुपैयाँबराबरको बीमा सरेन्डर भएकोमा मंसिरमा २६ प्रतिशतले बढेर ६ अर्ब १० करोड रुपैयाँ बराबरको  बीमालेख सरेन्डर भएको बताइएको छ ।

प्राधिकरणले दिएको जानकारी अनुसार सबैभन्दा बढी सरेन्डर लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) कम्पनीमा रहेको छ । १४ वटा जीवन बीमा कम्पनीमध्ये एलआईसी नेपालको १० हजार ३१७ वटा पोलिसीबाट १ अर्ब ६७ करोड ९६ लाख रुपैयाँको पोलिसी सरेण्डर भएको हो ।

यसैगरी, नेपाल लाइफ इन्स्योरेन्सका ११ हजार ७९३ वटा बीमा पोलिसी बापत अर्ब ९३ करोड ३५ लाख रुपैयाँको पोलिसी सरेन्डर भएको छ । राष्ट्रिय जीवन बीमा कम्पनीको ५ हजार ४१० वटा बीमा पोलिसी वापत ५१ करोड ३२ लाख रुपैयाँको पोलिसी सरेन्डर भएको हो । नेशनल लाइफ इन्स्योरेन्सको २ हजार ५४१ वटा पोलिसीबाट ३७ करोड ११ लाख रुपैयाँ सरेन्डर भएको छ ।

यस्तै, मेट लाइफको १ हजार ५१६ वटा पोलिसीबाट १७ करोड २३ लाख रुपैयाँको पोलिसी सरेन्डर भएको छ । एशियन लाइफ इन्स्योरेन्सको ३ हजार ७५२ वटा बीमा पोलिसीबाट ४० करोड १४ लाख रुपैयाँको पोलिसी सरेन्डर भएको छ । आइएमई लाइफको ७६३ वटा बीमा पोलिसीबाट ८ करोड ४३ लाख रुपैयाँको पोलिसी सरेन्डर भएको छ ।  सन नेपाल लाइफको २९५ वटा बीमा पोलिसीबाट २ करोड ९४ लाख रुपैयाँको पोलिसी सरेन्डर भएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार, रिलायबल नेपाल लाइफको ७०८ वटा बीमा पोलिसीबाट ४ करोड ४६ लाख, सिटिजन लाइफको १ हजार १०८ वटा बीमा पोलिसीबाट ८ करोड, सूर्यज्योति लाइफको २ हजार ४८८ सय वटा पोलिसीबाट ३२ करोड ६४ लाख, सानिमा रिलायन्स लाइफको ७८७ वटा पोलिसीबाट १० करोड ९५ लाख, हिमालयन लाइफको ३ हजार ३३ वटा बीमा पोलिसीबाट २८ करोड ३० लाख र प्रभु महालक्ष्मी लाइफको ५४९ वटा बीमा पोलिसीबाट ७ करोड ८० लाख रुपैयाँको पोलिसी सरेन्डर भएको छ । पछिल्लो समय बीमा क्षेत्रमा पोलिसी सरेन्डर ह्वात्तै बढ्न थालेको छ ।

सरेन्डर हुने बीमालेखमा एकल प्रिमियम भएको पोलिसी उच्च देखिएको छ । ऐन अनुसार बिमितले ३ किस्ता तिरेको खण्डमा मात्रै बीमालेख सरेन्डर गर्न पाउने व्यवस्था छ र उनीहरुले तिरेको रकम  फिर्ता प्राप्त  गर्न गर्छन् । तीन किस्ता नतिर्दै बीमालेख त्याग्नेको विवरण भने प्राधिकरणसँग उपलब्ध छैन ।