१ सय ५५ किलो गाँजासहित २ जना पक्राउ
विराटनगर, १७ पुस । भारत लैजाँदै गरेको १५५ किलो गाँजा बरामद गरिएको छ । नेपाल प्रहरीले गाँजासहित दुई जनालाई पनि पक्राउ गरेको छ ।
मंगलबार राति करिब साढे १० बजे विराटनगर महानगरपालिका–१८ स्थित भट्टा चोकमा प्रहरीलाई छलेर भागेको को १ च ९५८२ नम्बरको स्कारपियोमा गाडीमा लोड गरिएको १५५ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको हो ।
भागेको स्कारपियो खोजी गर्ने क्रममा जहदा गाउँपालिका–१ को धुनी बस्तीमा भेटिएको थियो। सो ठाउँबाट प्रहरीले स्कारपियो चालक धरान उपमहानगरपालिका–१२ का २४ वर्षीय राहुल विश्वकर्मा र गाडीमा सवार धनकुटाको शहीदभूमि गाउँपालिका–६ का १९ वर्षीय सुरज राईलाई पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ ।
मंगलबार राति करिब साढे १० बजे प्रहरीको चेकिङ छलेर भागेको गाडी खोज्न जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय रानीबाट प्रहरी टोली परिचालन भएको थियो ।