ओलीलाई भीम रावलको प्रश्न- तपाईंले सुशासन ल्याउन खोजेको पत्याइदिनुपर्ने हो ?

ओलीलाई भीम रावलको प्रश्न- तपाईंले सुशासन ल्याउन खोजेको पत्याइदिनुपर्ने हो ?

काठमाडौं, १७ पुस । नेकपा एमालेबाट निष्कासित नेता डा.भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा सुशासन ल्याउन खोजेको भनेर पत्याउनुपर्ने हो भन्दै प्रश्न गरेका छन् ।

आज (बुधबार) काठमाडौंमा आयोजित  पत्रकार सम्मेलनमा बोल्दै उनले ओलीलाई यस्तो प्रश्न गरेका हुन् ।

‘मेरो ४९ वर्षको पार्टी सदस्यता खोस्ने र ५१ वर्षको राजनीतिक जीवन समाप्त गर्न खोज्ने, पार्टीले प्रतिक्रियावादी र देशद्रोही भनिएकाहरू भ्रष्ट, अनैतिक, विचौलिया र दलालहरूसँग साँठगाँठ गरी केपी ओलीले देशमा के सुशासन र समाजवाद ल्याउन खोजेको भनेर पत्याइदिनुपर्ने हो र ?,’ उनले प्रश्न गरेका छन् ।

एमालेबाट निष्कासनमा परेपछि रावलले आज पहिलोपटक पत्रकार सम्मेलनको आयोजना गरेका हुन् । 

नेता रावलले  वर्तमान सरकारले भ्रष्टाचार काण्डहरूमा ठूला भनिएकाहरूलाई जोगाउने काम गरिरहेको आरोप समेत लगाएका छन् । 

‘सत्तामा हालीमुहाली गर्ने भनिएकाहरू नै हस्तक्षेप गर्ने उपकरण बनेका छन्, भाडाका सिपाही, श्रमीक, सुसारे, सेवक भएर विदेशमा पसिना बगाउन थुप्रै नेपाली बाध्य भइरहेका छन् ।’ उनले भने ।