भीम रावलको टिप्पणी: ओली गुट पूर्वाग्राही, चरम द्वेष र निषेधात्मक मनस्थितिको प्रतिबिम्ब

भीम रावलको टिप्पणी: ओली गुट पूर्वाग्राही, चरम द्वेष र निषेधात्मक मनस्थितिको प्रतिबिम्ब

काठमाडौं, १७ पुस । नेकपा एमालेबाट निष्कासित नेता डा. भीम रावलले  केपी ओली गुटको आफूँप्रतिको पूर्वाग्रह र चरम द्वेष र निषेधात्मक मनस्थितिको प्रतिबिम्ब देखिएको टिप्पणी गरेका छन् । उनले आफूलाई सोधिएको स्पष्टीकरणबाट आफैं छक्क पर्न पुगेको बताएका छन् । 

काठमाडौंमा बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता रावलले स्पष्टीकरण वा दोषपत्र भन्ने द्विविधामा परेको बताएका हुन् । 

‘६ कात्तिकमा स्पष्टीकरण हात पर्‍यो । मैले पत्रलाई राम्रोसँग गम्भीर भएर पढेँ । हालसम्मको एमालेको इतिवृतान्तको सम्झना भयो, स्पष्टीकरण पत्र हो कि दोषपत्र भन्ने द्विविधा भयो । पत्र भीमबहादुर रावल नेकपा एमालेलाई लेखिएको रहेछ । मेरो नाममा सदस्य वा पद उल्लेख गरिएको छैन । म छक्क परेँ ।’ रावलले भने ।

‘पार्टीको सदस्य वा कुनै स्थान नभएको व्यक्तिलाई स्पष्टीकरण सोधिन्छ र ?’ उनले प्रश्न गरेका छन् । उनले आफ्नो नाम र पद उल्लेख नहुनुलाई केपी ओली गुटको पूर्वाग्रह र चरम द्वेष देखिएको दाबी समेत गरेका छन् । 

‘यसरी स्थान उल्लेख नहुनु केपी ओली गुटको म प्रतिको पूर्वाग्रह र चरम द्वेष र निषेधात्मक मनस्थितिको प्रतिबिम्ब हो,’ रावलले भने ।