केन्द्रीय समिति बैठकमा प्रचण्डको प्रस्ताव: जातीय क्षेत्रीय मोर्चा सक्रिय बनाएर अगाडि बढ्ने
काठमाडौं, २१ पुस । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको जातीय क्षेत्रीय मोर्चाहरूलाई सक्रिय पार्ने प्रस्ताव गरेका छन् । आइतबारबाट काठमाडौंमा सुरु भएको माओवादी केन्द्रको केन्द्रीय समितिको विस्तारित बैठकमा अध्यक्ष प्रचण्डले युद्धकालीन समयमा जस्तै जातीय क्षेत्रीय मोर्चाहरूलाई सक्रिय पार्ने प्रस्ताव गरेको हुन् ।
‘पहिचानका मुद्दा ओझेलमा पर्न गएकोमा आत्मालोचनासहित उत्पीडित वर्गमा जानुपर्छ, जातीय क्षेत्रीय मोर्चालाई सक्रिय बनाएर लैजानुपर्छ ।’ प्रचण्डको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी एक नेताले भने ।
युद्धकालीन समयमा माओवादीले राष्ट्रिय मुक्तिको एजेन्डालाई अघि सार्दै उत्पीडित जाति र क्षेत्रीय मुक्तिका लागि भन्दै विभिन्न जातीय र क्षेत्रीय मोर्चाहरूको अभ्यास गरेको थियो । त्यही मोर्चाहरूको आधारमा राज्य पुनर्संरचनामा १४ प्रदेशको अवधारणा माओवादीले अगाडि सारेको थियो ।
नेताहरूका अनुसार अध्यक्ष प्रचण्डले सम्बोधनको क्रममा मधेशमा देखिएको गुटगत समस्या हल गर्दै मिसन २०८४ को अभियानलाई अगाडि बढाउनेदेखि सडक र सदनको संघर्षलाई मुख्य विषय बनाउने विषय पनि उल्लेख गरेका छन् ।
‘हाम्रो पार्टीको संघ र प्रदेश सांसदहरूको भूमिका प्रभावकारी छैन, राम्रा काम गरिरहेकाहरूको उच्च मूल्याङ्कन गरिनेछ,’ प्रचण्डको भनेका छन् ।