माओवादी केन्द्रले सबै केन्द्रीय पदाधिकारीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने
काठमाडौं, २२ पुस । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले केन्द्रीय पदाधिकारीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने भएको छ ।
आर्थिक पारदर्शिता अन्तर्गत केन्द्रीय पदाधिकारीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने कार्ययोजना पार्टीमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रस्तुत गरेका हुन् ।
पार्टीको केन्द्रीय समितिको बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा यससम्बन्धी व्यवस्था छ । ‘केन्द्रीय पदाधिकारीहरूको सम्पत्ति विवरण सार्वजनिक गरिनेछ ।’ उल्लेख गरिएको छ ।
साथै, प्रत्येक वर्ष पार्टी केन्द्रीय समितिका सदस्यहरूले सम्पत्ति विवरण अद्यावधिक गरी केन्द्रीय कार्यालयमा बुझाउनुपर्ने प्रस्ताव पनि कार्ययोजनामा समावेश गरिएको छ ।
कार्ययोजनामा जनप्रतिनिधि र राजनीतिक नियुक्ति लिएका व्यक्तिले पनि सम्पत्ति विवरण बुझाउनुपर्ने प्रस्ताव गरिएको छ ।
‘तीनै तहमा सरकारमा सहभागी भएका, संघीय सांसद तथा प्रदेश सभाका सदस्य रहेका उच्च तहको राजनीतिक नियुक्तिको जिम्मेवारीमा रहेका कमरेडहरूले जिम्मेवारी पाएका एक महिनाभित्र सम्पत्ति विवरण बुझाउनुपर्ने छ र सेवा अवधिभर हरेक वर्ष अद्यावधिक गर्नुपर्नेछ,’ कार्ययोजनामा भनिएको छ ।