प्रजातन्त्र सेनानीको सक्रिय भूमिकाविना परिवर्तन असम्भव : विमलेन्द्र निधि
महेन्द्रनगर (धनुषा), २२ पुस । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले प्रजातन्त्र सेनानीको सक्रियताका कारण नेपालमा परिवर्तन सम्भव भएको बताएका छन् । नेपाली जनताले आजसम्म जे जति अधिकार प्राप्त गरेका छन् त्यसमा प्रजातन्त्र सेनानीको भूमिका रहेको उनले उल्लेख गरे ।
जनकपुरधाममा आज नेपाल प्रजातन्त्र सेनानी सङ्घ मधेश प्रदेशको प्रथम प्रदेश अधिवेशनको उद्घाटन गर्दै नेता निधिले राणा शासनलाई समाप्त पारेर संवैधानिक राजतन्त्र र संसदीय प्रणाली ल्याइएको बताए । निरङ्कुश राजतन्त्र र निर्दलीय पञ्चायती व्यवस्था फालेर बहुदलीय प्रणाली स्थापनामा प्रजातन्त्र सेनानीहरुको सक्रिय, सजग, दूरदर्शी र नेतृत्वदायी भूमिका रहेको नेता निधिले बताए ।
“प्रजातन्त्र सेनानीको सक्रिय भूमिकाबिना नेपालमा परिवर्तन सम्भव थिएन,” उनले भने । प्रजातन्त्र सेनानीहरु क्रान्तिकारी, आन्दोलनकारी र सङ्घर्षशील हुने गरेको तथा परिवर्तनको पक्षमा काम गर्दैआएको उनको भनाइ थियो । सरकारले प्रजातन्त्र सेनानीको पक्षमा एउटा आयोग गठन गर्नुपर्ने नेता निधिले बताए ।
“पुरानो पुस्ताका बारेमा थोरै पनि जानकारी राख्न सक्यौँ भने आफ्नो भावी पुस्तालाई हस्तान्तरण गर्न सक्छौँ । भावी पुस्तालाई पूर्वजहरुको इतिहास हस्तान्तरण नगरिए प्रजातन्त्र सेनानीको उपलब्धिबारे कसैले कुनै चासो र चिन्ता व्यक्त गर्दैनन,” उनले भने । नेता निधिले वर्तमान संविधानका कतिपय विषयमा संशोधनको आवश्यकता रहेको बताए। कांग्रेसकै अग्रसरतामा संविधानको कार्यान्वयन हुनुपर्ने उनले उल्लेख गरे।
“सङ्घीयतालाई दिगो र सबल बनाउन केन्द्रीय मानसिकता हटाएर संविधानको अनुसूचीअनुसार प्रदेश र स्थानीय तहले आफ्नो अधिकारको प्रयोग गर्न पाउनुपर्छ, सातै प्रदेशमा सङ्घीय संरचनाअनुसार प्रदेशले प्रदेश प्रहरी तत्काल राख्न पाउनुपर्छ,” नेता निधिले भने ।