खालिदा जिया गम्भीर बिमार, विशेष एयर एम्बुलेन्समा लण्डन लगियो

खालिदा जिया गम्भीर बिमार, विशेष एयर एम्बुलेन्समा लण्डन लगियो

काठमाडौं, २४ पुस । बङ्गलादेश नेशनलिस्ट पार्टी (बीएनपी) की अध्यक्ष खालिदा जिया उपचारका लागि मङ्गलबार साँझ लण्डन प्रस्थान गरेकी छिन् । 

ढाका ट्रिब्युनका अनुसार राति ११ः४६ बजे उनी हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलबाट कतारका अमिरले पठाएको विशेष रोयल एयर एम्बुलेन्समा लण्डन प्रस्थान गरेकी हुन् । 

राती ८ बजे आफ्नो गुलशन निवासबाट उपचारका लागि लण्डनतर्फ निस्कनुभएका ७९ वर्षीय जिया कलेजो सिरोसिस, मुटुरोग, मृगौलालगायत विभिन्न स्वास्थ्य समस्याबाट पीडित छिन् । उनलाई उपचारका लागि लण्डनक्लिनिकमा भर्ना गरिने बताइएको छ ।

जियाका साथमा उनका चिकित्सक, परिवारका सदस्य र सहयोगीहरू थिए भने कतार सरकारका डाक्टरहरूको टोली पनि विमानमा सवार भएको थियो । जियालाई लण्डन लैजान कतारको रोयल एयर एम्बुलेन्स सोमबार साँझ ७ः४० बजे ढाका आइपुगेको थियो ।

जियालाई लण्डन लैजाने तयारी भएको सूचनासँगै उनले प्रस्थान गर्नुअघि ठूलो सङ्ख्यामा बीएनपी नेता र कार्यकर्ताहरू गुलशनस्थित जियाकोे निवास फिरोजा नजिकै भेला भएका थिए। 

बीएनपीका महासचिव मिर्जा फखरुल इस्लाम आलमगीर साँझ सवा ६ बजे फिरोजामा पुगेका थिए भने उनले भेला भएका समर्थक र शुभेच्छुकलाई व्यवस्थित रहन र सडक खाली राख्न आग्रह गरेका थिए । 

लण्डन भ्रमणलाई बीएनपीका वरिष्ठ नेताहरूले राजनीतिक यात्राभन्दा पनि चिकित्सकीय भ्रमणको रूपमा व्याख्या गरेका छन्। खालिदा जियाले राम्रो स्वास्थ्य सेवा प्राप्त गर्नु र लामो समयपछि आफ्नो परिवारसँग पुनर्मिलन गर्नु भ्रमणको मुख्य उद्देश्य रहेको उनीहरूले बताए । 

ढाका ट्रिब्यूनका अनुसार बीएनपीका स्थायी समिति सदस्य तथा वरिष्ठ नेता इकबाल हसन महमुदले बिएनपी नेतृ तथा बङ्गलादेशका पूर्वप्रधानमन्त्री खालिदा जिया आफ्नो उपचारपछि स्वस्थ भई फर्कने र पार्टी र देशको नेतृत्व गरिरहन तयार हुने आशा व्यक्त गरेका छन् । 

नेता महमुदले जियाको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै भने, “उहाँ हामीकहाँ स्वस्थ भएर फर्कनुहुनेछ पार्टीको नेतृत्व सम्हाल्नुहुनेछ । हामी सबै उहाँको सशुस्वास्थ्यको प्रार्थना गर्दछौँ ।”