यू–१९ महिला विश्वकप क्रिकेट खेल्ने नेपाली टोलीको बिदाई
काठमाडौं, २६ पुस । मलेसियामा आयोजना हुन गइरहेको आईसीसी यू–१९ महिला टी–२० विश्वकपमा सहभागिता जनाउने नेपाली टोलीलाई बिदाई गरिएको छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी नेपाल क्रिकेट संघ क्यानले टोलीको बिदाई गरेको हो ।
त्यसअवसरमा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, क्यानका उपाध्यक्ष रोशन सिंह, सचिव पारस खड्का लगायत क्यानका सदस्य तथा महिला सिनियर टिमकी कप्तान इन्दु बर्माले शुभकामना सहित टोलीको बिदाई गरेका हुन् ।
क्यानका सचिव पारस खड्काले टोलीलाई कुनै पनि दबाब नलिइकन खेल्न आग्रह गरे ।
मन्त्री तेजुलाल चौधरीले उमेरमा सानो भएपनि उत्कृष्ट खेल प्रदर्शन गर्नेमा विश्वास लिएको जनाउँदै क्यानले पछिल्लो समय गर्दै आएको कामप्रति धन्यवाद व्यक्त गर्दै विद्यालय स्तरदेखि नै खेलाडी उत्पादन गर्नका लागि विद्यालयहरुसँग पनि सहकार्य गर्न सकिने बताए ।
यसैगरी, यू–१९ कप्तान पूजा महतोले क्यानले आफूलाई कप्तानको भूमिका दिएकोमा धन्यवाद व्यक्त गर्दै विश्वकपमा राम्रो प्रदर्शन गर्ने प्रतिबद्धता जाहेर गरिन् ।
प्रशिक्षक महेश प्रसाद रिजालले पनि प्रतियोगिताका लागि राम्रो तयारी भएको दाबी गरे ।
सिनियर महिला टिमकी कप्तान इन्दु बर्माले विश्वकपमा छनोट भएर इतिहास रचेकोमा बधाई ज्ञापन गर्दै विश्वकपमा पनि उत्कृष्ट प्रदर्शन गरेर आउन शुभकामना दिइन् ।
शनिबार दिउँसो नेपाली यू–१९ महिला टोली मलेसिया प्रस्थान गर्ने कार्यक्रम छ ।