माघ २ गते समाजवादी मोर्चाको बैठक बस्ने
काठमाडौं, २६ पुस । समाजवादी मोर्चाको बैठक माघ २ गते बुधबार बस्ने तय भएको छ । समाजवादी मोर्चाको बैठक आगामी बुधबार बस्न लागिएको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जानकारी गराएका छन् ।
उनका अनुसार, हिजो र आज सोही मोर्चाको बैठकबारे छलफल भएको छ । प्रचण्डले हिजो र आज सिंहदरबारमा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसँग छलफल गरेका थिए ।
४ असार २०८० मा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (नेपा) र विप्लव नेतृत्वको नेकपाले समाजवादी मोर्चा घोषणा गरेका थिए ।
पछिल्लो समय उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल भने समाजवादी मोर्चामा निष्क्रिय छ । बिहीबारको छलफलमा मोर्चामा उपेन्द्रलाई सक्रिय बनाउने जिम्मा माधव नेपाललाई दिइएको थियो ।
आजको बैठकमा अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठ पनि सहभागी थिए । श्रेष्ठसँग अध्यक्षद्वय प्रचण्ड र नेपालको भेटवार्ता सकिएपछि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन पनि पुगेका थिए । लिङ्देन भने आफ्नो पार्टीले शनिबार आयोजना गर्न लागेको चियापानको निम्तो दिन पुगेको बताइएको छ ।