स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण: रवि लामिछानेको बयान न्यायाधीश माधव अधिकारीको इजलासमा

स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण: रवि लामिछानेको बयान न्यायाधीश माधव अधिकारीको इजलासमा

काठमाडौं, २८ पुस । कालीमाटीको स्वर्णलक्ष्मी बहुउदेश्यीय सहकारी बचत अपचलन प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको मुद्दा न्यायाधीश माधव अधिकारीको इजलासमा परेको छ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश अधिकारीको इजलासमा लामिछानेको बयान र त्यसपछि थुनछेक बहस सुरू हुने स्रेस्तेदार रामु शर्माले जानकारी दिए।

आइतबार बिहान साढे ९ बजेनै लामिछाने अदालतमा उपस्थित भएका थिए। यसअघि कास्की जिल्ला अदालतले उनलाई सूर्यदर्शन सहकारीको अनियमिततामा ६५ लाख धरौटी माग गर्दै आदेश जारी गरेको थियो।

उक्त आदेशपछि काठमाडौंमा उनी आफै हाजिर हुने शर्तमा रिहा भएका थिए ।

स्वर्णलक्ष्मी सहकारीमा एक अर्ब १९ करोड ४९ लाख २१ हजार २ सय ७० रुपैयाँ हिनामिना भएको छ । उक्त रकम अपलचनमा सरकारी वकिलको कार्यालय काठमाडौंले ३९ जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गराएको थियो । 

रवि लामिछाने र जिबी राईको हकमा सहकारीको बचतबाट पाँच करोड ८ लाख ६९ हजार ६ सय ३३ रुपैयाँ अपचलन भएको अभियोग लगाइएको छ ।