माछापुच्छ्रे बैंकको २६औँ वार्षिक साधारण सभा सम्पन्न, ३ जना सञ्चालक निर्विरोध निर्वाचित
काठमाडौं, २९ पुस । माछापुच्छ्रे बैंकको २६औँ वार्षिक साधारणसभा होटल पोखरा ग्राण्ड पोखरामा सम्पन्न भएको छ।
साधारणसभाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन पारित गरेको बैंकले जनाएको छ । उक्त साधारणसभाले बैंक सञ्चालक समितिको सदस्य पदमा जय मुकुन्द खनाल, मनिषा भण्डारी र सुनिल नारायण श्रेष्ठलाई निर्विरोध चयन गरेको बताइएको छ ।
कार्यक्रममा बैंक सञ्चालक जय मुकुन्द खनालले स्वागत मन्तव्य राखेका थिए। उक्तसभामा अर्का सञ्चालक मुकुन्द महतले जि.पि.राजबहाक एण्ड कम्पनीलाई पुनः लेखापरीक्षक नियुक्त गर्न प्रस्ताव गरेको प्रस्ताव सर्वसम्मतिबाट पारित भएको छ।
साधारणसभामा बोल्दै बैंकका अध्यक्ष रोशन के।सीले प्रविधिको विकाससँगै यसमा देखा परेका चुनौतीलाई काम गर्दै ग्राहकलाई जोखिमरहित सेवा प्रदान गर्न नयाँ प्रविधिलाई आत्मसात् गर्दै आएको बताए।
यस क्रममा उनले निक्षेप तथा कर्जा लगानीलाई सन्तुलित रुपमा वृद्धि गरी कर्जाको गुणस्तरमा सुधार गर्दै कृषि, नवीकरणीय उर्जा, साना तथा मझौला उद्योगलगायत क्षेत्रमा आफ्नो लगानी विस्तार गर्ने कार्यलाई प्राथमिकतामा राखेर बैंक अगाडि बढिरहेको जानकारी गराएका थिए।
बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्तोष कोइरालाले बैंकले मुनाफाभन्दा दिगो बैंकिङमा जोड दिइरहेको बताउँदै ग्राहकको आवश्यकतालाई मध्यनजर गरी अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय सेवा प्रदान गर्न लागिपरेको बताए।