माघ ९ गतेदेखि ऋणपत्र निष्काशन गर्दै आइसिएफसि फाइनान्स
काठमाडौं, २९ पुस । आइसिएफसि फाइनान्स लिमिटेडले माघ ९ गतेदेखि ऋणपत्र निष्काशन गर्ने भएको छ। फाइनान्सले ७ वर्ष अवधिको वार्षिक ९ प्रतिशत ब्याजदरमा ‘९ प्रतिशत आइसिएफसि फाइनान्स लिमिटेड डिबेञ्चर २०८८’ निष्काशन गर्न लागेको हो।
फाइनान्सले प्रतिऋणपत्र १ हजार अंकित दरका ३० करोड रुपैयाँ बराबरको ३ लाख कित्ता ऋणपत्र बिक्री खुला गर्न लागेको हो।
सोमध्ये १८ करोड रुपैयाँ बराबरको १ लाख ८० हजार कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बाँडफाँट गरिनेछ भने बाँकी १२ करोड रुपैयाँ बराबरको १ लाख २० हजार कित्ता सर्वसाधारणमा बाँडफाँट गरिनेछ। सर्वसाधारणमा बाँडफाँट गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ६ हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको कम्पनीले जनाएको छ ।
सो ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १ लाख २० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। निष्काशन बन्द छिटोमा माघ १३ गते हुनेछ भने ढिलोमा माघ २३ गते हुनेछ।
फाइनान्सको बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ।