माघको लागि बैंकहरुको ब्याजदर सार्वजनिक, कुन बैंकको कति ? (सूचीसहित)

माघको लागि बैंकहरुको ब्याजदर सार्वजनिक, कुन बैंकको कति ? (सूचीसहित)

काठमाडौं, २९ पुस ।  वाणिज्य बैंकहरुले माघ महिनाका लागि ब्याजदर सार्वजनिक गरेका छन् । २० वटा वाणिज्य बैंक रहेकामा अधिकांशले पुस महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् । यो ब्याजदर भोलि माघ १ गतेदेखि लागू हुने बताइएको छ । 

२० बैंकहरुमध्ये १७ वाणिज्य बैंकहरुले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदरमा पुस महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् । बाँकी दुईवटाले घटाएका छन् भने एकले बढाएको छ ।

माघमा पनि पुसकै ब्याजदरलाई निरन्तरता दिने बैंकहरूमा सिटिजन्स, ग्लोबल आइएमई, नबिल, कुमारी, माछापुच्छ्रे बैंक रहेका छन् ।

त्यसैगरी सिद्धार्थ, एभरेष्ट, राष्ट्रिय वाणिज्य बैंक, सानिमा, प्रभु, प्राइम कमर्सियल, स्ट्यान्डर्ड चार्टर्ड, हिमालयन, नेपाल इन्भेष्टमेन्ट मेगा, एनएमबि र एनआइसी एशिया बैंकले पनि पुसकै ब्याजदरलाई निरन्तरता दिएका छन् । 

त्यसैगरी ब्याजदर घटाउनेमा नेपाल एसबिआई बैंक र कृषि विकास बैंक रहेका छन् भने लक्ष्मी सनराइज बैंकले बढाएको छ । 

नेपाल एसबिआई बैंकले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर ६ प्रतिशतबाट ५.५ प्रतिशतमा झारेको छ भने कृषि विकास बैंकले ५.५७ प्रतिशतबाट ५.५१ प्रतिशतमा झारेको छ । लक्ष्मी सनराइजले भने यस्तो खाताको अधिकतम ब्याजदर ५.५० प्रतिशतबाट बढाएर ५.७५ प्रतिशत पुर्याएको हो ।

यसरी विश्लेषण गर्दाखेरी  पुस महिनाको तुलनामा माघ महिनामा बैंकहरुको ब्याजदर ०.०१५५ प्रतिशत विन्दुले घटेको देखिएको  छ ।