यू–१९ महिला टी-२० विश्वकप : अभ्यास खेलमा वेष्ट इन्डिजसँग नेपाल पराजित

यू–१९ महिला टी-२० विश्वकप : अभ्यास खेलमा वेष्ट इन्डिजसँग नेपाल पराजित

काठमाडौं, २९ पुस । आईसीसी यू–१९ महिला टी–२० विश्वकपको तयारी स्वरूप आज भएको पहिलो अभ्यास खेलमा नेपाल वेष्ट इन्डिजसँग पराजित भएको छ ।

मलेसियास्थित कोलेज तुन्कु जाफार मैदानमा भएको खेलमा नेपाल ९ रनले हार व्यहोरेको हो । वेष्टइन्डिजले दिएको ११० रनको लक्ष्य पछ्याएको नेपाल ५ बल अगावै १०० रनमा समेटियो । 

सिमाना केसीले २३ तथा किरण कुँवर र कप्तान पुजा महतोले समान १८ रन बनाए  । ५४ रनमा ६ विकेट गुमेपछि किरण र सिमानाले ३० रनको साझेदारी गरे । ९८ रनको स्कोर हुँदा सिमाना पनि आउट भएपछि वेष्ट इन्डिज फेरि खेलमा फर्किएको थियो ।

टस जितेर पहिले ब्याटिङ गरेको वेष्ट इन्डिजले २० ओभरमा ४ विकेटको नक्सानीमा १०९ रन योगफल बनाउँदै नेपालसमक्ष ११० रनको लक्ष्य पेस गरेको थियो । 

जजारा क्लक्सटनले अविजित २२ रन बनाइन् । त्यस्तै कप्तान समारा रमनथले २५ रन बनाउँदा अबिगेल ब्राइसले १९ रन बनाइन् । नेपालकी सिमाना केसी र रचना कुमारी चौधरीले एक/एक विकेट झारिन् । 

नेपालले दोस्रो अभ्यास खेल १५ जनवरीमा अमेरिकासँग खेल्नेछ । मलेसियामा हुने यू–१९ महिला टी२० विश्वकप जनवरी १८ देखि फेब्रुअरी २ सम्म सञ्चालन हुँदैछ । समूह डी मा रहेको नेपालले जनवरी १८ मा बंगलादेशसँग पहिलो प्रतिस्पर्धा गर्नेछ । यस्तै जनवरी २० मा स्कटल्याण्ड र जनवरी २३ मा अस्ट्रेलियाको सामना गर्नेछ ।