थुनछेक बहसका लागि रवि काठमाडौं जिल्ला अदालतमा
काठमाडौं, २ माघ । काठमाडौंस्थित कालीमाटीको स्वर्णलक्ष्मी सहकारी बचत अपचलन प्रकरणमा तानिएका रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई थुनछेक बहसका लागि जिल्ला अदालतमा उपस्थित गराइएको छ ।
काठमाडौंको स्वर्णलक्ष्मी सहकारी संस्थाको रकम अपचलन प्रकरणमा लामिछानेविरुद्ध पनि मुद्दा दायर भएको छ । सोही मुद्दाको बयानका लागि लामिछाने आइतबार काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका थिए ।
उक्त दिन बयान नसकिएपछि न्यायाधीश माधवप्रसाद अधिकारीले आइतबार हिरासत पठाउने आदेश दिएका थिए । सोमबार पनि थुनछेक बहस भएको थियो सो दिन रवि पक्षका वकिलहरूले बाहिरै राखेर अनुसन्धान गर्न आग्रह गरेका थिए । तर, न्यायाधीश अधिकारीले आइतबारको आदेशलाई नै निरन्तरता दिँदै बुधबारबाट फेरि निरन्तर सुनुवाइ हुने भनेका थिए ।
लामिछानेलाई भद्रकालीस्थित काठमाडौं प्रहरी परिसरको हिरासतमा राखिएको थियो । २६ पुसमा उनी पोखराको सूर्यदर्शन सहकारीको ठगी मद्दामा कास्की जिल्ला अदालतको आदेशबाट ६५ लाख धरौटीमा छुटेका थिए ।