नयाँ दिल्लीमा 'भारत मोबिलिटी एक्स्पो-२०२५' आजदेखि सुरू हुँदै, अधिकांश ब्राण्डले नयाँ गाडी ल्याउने

नयाँ दिल्लीमा 'भारत मोबिलिटी एक्स्पो-२०२५' आजदेखि सुरू हुँदै, अधिकांश ब्राण्डले नयाँ गाडी ल्याउने

काठमाडौं, ४ माघ । भारतको केन्द्रीय राजधानी नयाँ दिल्लीमा मोविलिटी एक्स्पो-२०२५ आजबाट सुरु हुँदैछ । अटो एक्स्पोमा अधिकांश भारतमा कार उत्पादन गर्दै आएका ब्राण्डले नयाँ गाडी सार्वजनिक गर्न लागेका हुन् ।

सुजुकीले पहिलो पटक ई-भिटारा बिक्री सुरु गर्दैछ । कम्पनीले बिक्रीको लागि ल्याउन लागेको ई-भिटाराको अलावा कन्सेप्ट कार पनि देखाउने अनुमान छ ।

भारतीय अटोमोवाइल ब्राण्डमा टाटाले अभिन्याको परिस्कृत कन्सेप्ट देखाउन लागेको छ । साथमा ह्यारीयर ईभी, सिरिया मोडल र अहिले चल्तीमा रहेको टिगोर र टियागो ईभीको फेसलिफ्ट देखाउने तयारी गरिरहेको छ ।

महिन्द्राले बीई–६, एक्सईभी–९ई र ७ई जस्ता मोडल देखाउन सक्नेछ ।यसकासाथै कम्पनीले थार इलेक्ट्रीकको पनि कन्सेप्ट देखाउने छ ।

हुन्डाईले क्रेटा ईभी र आयोनीक ९ मोडल देखाउने छ । कम्पनीले यसको साथमा नयाँ मोडलको कन्सेप्ट पनि देखाउने अनुमान  गरिएको छ ।

कियाले ईभी–६ को फेसलिफ्ट मोडल सार्वजनिक गर्नेछ भने भारतमा उत्पादन गरेको सिरोस एसयूभी देखाउने छ ।

बीवाइडीले सिलायन–७ र एम–६ मोडल सार्वजनिक गर्दैछ । यी दुबै मोडल नेपालमा यसअघि नै देखाइएको मोडल हो ।

भियतनामको कम्पनी भिनफास्टले भी–५ र भी–७ मोडलको साथ भारतमा बिक्री सुरु गर्दैछ । भिनफास्ट नेपालमा पनि भित्रिने तयारी गरिरहेको ब्राण्ड हो ।

मोसिर ग्यारेजले एमजी–७ र एमजी–९ मोडल सार्वजनिक गर्दैछ ।यसका अतिरिक्त टोयोटाले पनि आफ्नो पहिलो इलेक्ट्रीक कार अर्वान क्रुजर देखाउने अनुमान गरिएको छ ।