शनिबार ०२ चैत, २०८१

सुदूरपश्चिम पुगेर भीम रावलले भने,- ‘मातृभूमि जागरण अभियान देशको रक्षाको लागि हो’

सुदूरपश्चिम पुगेर भीम रावलले भने,- ‘मातृभूमि जागरण अभियान देशको रक्षाको लागि हो’

काठमाडौं, ४ माघ । नेकपा एमालेबाट निष्कासित पूर्व उपाध्यक्ष तथा पूूर्वगृमन्त्री रहेका नेता डा.भीम रावल शुक्रवार सुदूरपश्चिम भ्रमणका लागि कैलाली पुगेका छन् ।

भर्खरै ‘मातृभूमि जागरण अभियान, नेपाल’ घोषणा गरेका रावल पछिल्लो समय नयाँ पार्टीको तयारीमा छन् । बिहीबार मात्रै पार्टी गठन गर्ने उद्देश्यका साथ रावलले चार पानाको ‘मातृभूमि जागरण अभियान, नेपाल, संक्षिप्त जानकारी’ भन्दै एक प्रस्ताव सार्वजनिक गरेका थिए । 

जसमा ‘देशमा देशभक्तिपूर्ण  राजनीतिक शक्तिरदल निर्माण निर्माणमा योगदान गर्ने’ उनको भनाइ थियो । सोही क्रममा धनगढी पुगेका रावलले आफ्ना समर्थकलाई सम्बोधन गर्दै आफ्नो अभियान देशको रक्षाको लागि रहेको बताए।

‘तपाईँ जहाँतहाँ जानुहुन्छ, यो अभियान देशको रक्षाका लागि हो, जनताको हक अधिकारको रक्षाका लागि हो,’ नेता रावलले भने, ‘माथि केन्द्रमा बसेर सत्तालाई केवल निहित स्वार्थमा दुरुपयोग गर्ने र यो देशलाई अझ गरिब, अझ अव्यवस्थित, अझ हाम्रो स्वाधीनतामाथि खतरा निम्त्याउनेहरुका विरुद्ध हो भन्ने सन्देश पुर्‍याइदिनु हुनेछ भन्ने विश्वास गरेको छु ।’