नबिल बैंकद्वारा जाजरकोट र रुकुम पश्चिममा कम्बल वितरण

नबिल बैंकद्वारा जाजरकोट र रुकुम पश्चिममा कम्बल वितरण

काठमाडौं, ८ माघ । नबिल बैंकले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितलाई कम्बल वितरण गरेको छ । 

भूकम्पपछि जाजरकोट र रुकुम पश्चिममा बैंकले निर्माण गरेका ९६ वटा अस्थायी आवासमा बसोबास गरिरहेका परिवारलाई कम्बल वितरण गरिएको हो । 

बैंकले एक कार्यक्रम आयोजना गरी यही माघ १ गते जाजरकोटको नलगाड–१ का वडाध्यक्ष धनबहादुर महर र माघ २ गते रुकुम पश्चिमको चौरजहारी–१ का वडाध्यक्ष ईन्द्रे गिरीको उपस्थितिमा कम्बल वितरण गरेको हो ।

यस वर्षको हिउँदमा पनि अस्थायी आवासमा बिताउनु पर्दा खासगरी वृद्धवृद्धा, बालबालिका र सुत्केरीहरूको स्वास्थ्यमा पर्नसक्ने समस्यालाई ध्यानमा राखी कम्बल वितरण गरिएको नबिल बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले बताए ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्थानीय सरकारसँगको साझेदारीमा जाजरकोटको नलगाड नगरपालिका–१ मा ४७ र रुकुम पश्चिमको चौरजहारी नगरपालिका–१ का भूकम्पपीडितका लागि ४९ वटा अस्थायी आवास निर्माण गरेको थियो । सोही अस्थायी आवासमा बसोबास गर्ने परिवारका लागि यसपटक कम्बल वितरण गरिएको बैंकले जनाएको छ ।

त्यसअवसरमा नलगाड–१ का अध्यक्ष महर र चौरजहारी–१ का अध्यक्ष गिरीले भूकम्प प्रभावितका लागि ओत लाग्न सुरक्षित ठाउँ उपलब्ध गराउनुका साथै यसवर्ष चिसोबाट बच्न कम्बल वितरण गरी राहत उपलब्ध गराएकामा नबिल बैंकलाई धन्यवाद दिए ।

२०८० कात्तिक १७ गते जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रविन्दु भइ ६.४ रेक्टर स्केलको भूकम्प जाँदा जाजरकोट र रुकुम पश्चिममा ठूलो क्षति पुर्‍याएको थियो । 

नबिल बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यसहित विभिन्न सामाजिक कार्य गर्दै  आएको   छ ।

बैंकले विशेष गरी वित्तीय साक्षरता, उद्यमशीलता विकास, स्वास्थ्य, शिक्षा, विपद् जोखिम न्यूनीकरण, व्यवस्थापन र जलवायु परिवर्तनका क्षेत्रमा प्राथमिकताका साथ काम गरिरहेको छ ।

बैंकको उक्त प्रयासबाट विभिन्न समुदायका हजारौं मानिसहरूको जीवनमा सकारात्मक सुधार हुनुका साथै वातावरण संरक्षणतर्फ ठोस कदम अगाडि बढाउन सहयोग पुगेको बताइएको छ । 

विशेषगरी उद्यमशीलता विकासको क्षेत्रमा नबिल बैंकले ‘नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसीप’ मार्फत फेलोसिप कार्यक्रम र सर्टिफिकेट कोर्स सञ्चालन गरी हालसम्म ११७ वटा उद्यम स्थापना र एक हजार दुई सयभन्दा बढी रोजगारी सृजना गरेको जनाएको छ ।